Logo

मुस्ताङमा यति सुन्दर विद्यालय



काठमाडौं, १४ जेठ । यो हिमालपारीको जिल्ला मुस्ताङको विद्यालय हो । कुनै प्रमुख शहरमा बनेको भन्दा सुन्दर विद्यालय देख्दा मुस्ताङ पुग्नेहरु नै आश्चर्यमा पर्न सक्छन् । यो विद्यालय भारत सरकारको सहयोगमा बनेको हो ।

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन शुक्रबार भएको हो । भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ्ग गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहमा सो विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान पनि भारत सरकारका तर्फबाट गरिएको छ ।

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु २ करोड ६३ लाखको लागतमा यस स्तरोन्नत संरचनाको निर्माण भएको हो । जिल्ला समन्वय समिति मुस्ताङले यस परियोजनाको कार्यान्वयन गरेको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्