Logo

कांग्रेस वरिष्ठ नेतालाई धमलाको प्रश्नः “गणतन्त्र त आयो तर जनताले के पाए ?”



काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अतीतका अपराधलाई चाँडै बिर्सनु नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “गणतन्त्र दिवस भनेको जनताले राज्यसत्ता आफ्नो हातमा लिएको दिन हो । जनताका लागि मुक्तिको दिन हो । तर कतिपय गणतन्त्रले केही पनि दिएन भनेर नकारात्मक प्रचार गरेका छन् । गणतन्त्रले केही उपलब्धि भएको छैन भन्नु पनि गलत हो । हामी अतीतका अपराधलाई चाँडै बिर्सन्छौं । जति उपलब्धि हुनुपथ्र्यो, त्यति हुन सकेको छैन । तर धेरै काम भएका छन् ।”
कांग्रेस नेता पौडेलले लोकतन्त्रको विकल्प अझै लोकतन्त्र भएको पनि बताए । उनले भने, “हाम्रा नेताहरुले परिवर्तनलाई आत्मसात् गर्न सकेका छैनन् । राजनीतिक चरित्र बदलिएको छैन । तर, समस्याको बीचमा पनि लोकतन्त्रले निकास दिन्छ । जुन आगोले पोल्छ, त्यही आगोले सेक्ने हो । रोग लाग्छ, उपचार पनि छ । शाश्वत सत्य भनेको लोकतन्त्र हो । समाजवाद पनि लोकतन्त्रको मूल्य र मान्यताअन्तर्गत हो । लोकतन्त्रको विकल्प अझ लोकतन्त्र हो ।”
राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र विकासका निम्ति नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको पनि उनले बताए । पौडेलले भने, “संविधान र परिवर्तनका उपलब्धिलाई जोगाउनुपर्छ भनेर ५ दल एक ठाउँमा आएका हौं । हामीले त्यो लक्ष्यलाई भुल्नुहुँदैन । अस्थिरताका काला बादल अझै पनि मडारिइरहेको छ । त्यसैले आउँदो चुनाव पनि मिलेर नै लड्नुपर्छ ।”
गणतन्त्रको स्थायित्वका लागि लुटेर खाने प्रवृत्तिको अन्त्य जरुरी भएको पनि पौडेलले औंल्याए । उनले भने, “देश लुटेरा खाने प्रवृत्ति छ । लुटेराहरुबाट देशलाई बचाउनुपर्छ । त्यसका निम्ति मिडियाले जनतालाई सचेत र जागरुक बनाउने अनि नेतालाई प्रश्न उठाउने काम गरिरहनुपर्छ । यसले लोकतन्त्रको विकासमा मदत गर्छ ।”



प्रतिक्रिया दिनुहोस्