Logo

“एमालेसँग सहकार्यको सम्भावना छैन, माओवादी केन्द्रसँग एकता हुन सक्छ”



काठमाडौं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) महासचिव डा. वेदुराम भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भुसालले भने, “हामीले नेकपा एमालेसँग वार्ता, छलफल गरेको भन्ने हावादारी कुरा हो । संसद् चलिरहेको छ । कोही नेता बस्नुभयो होला, चियागफ गर्नुभयो होला । एमाले त वामपन्थी नै होइन । दक्षिणपन्थी, विर्सजनवादी र लोकतन्त्रलाई समाप्त गर्ने पार्टी हो । अब को वामसँग तालमेल गर्ने ? एमालेसँगै जाने कुरा बिलकुल गलत हो । अहिले वामपन्थी गठबन्धनको छँदै छैन ।”
महासचिव डा. भुसालले नेकपा माओवादी केन्द्रसँग भने सहकार्य र एकता दुवै सम्भावना रहेको बताए । उनले भने, “माओवादी केन्द्रसँग त सहकार्य अहिले पनि छ । तर दुवै पार्टी एकीकरण गर्छौं भनेका छैनौं । एकीकरणको आधार बनिसकेको छैन । सहकार्य गर्दै जाँदा आधार बन्यो भने एकता हुन पनि सक्छ ।”
स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट धोका भयो पनि भन्ने, फेरि सहकार्य गर्ने पनि भन्ने नेकपा (एस) को ‘डबल स्ट्यान्डर्ड’ किन भन्ने पत्रकार धमलाको प्रश्नमा महासचिव डा. भुसालले भने, “हाम्रो प्रतिक्रिया तपाईंले दिने कि हामीले दिने ? स्थानीय तहको निर्वाचनमा भएका विभिन्न प्रवृत्तिको समग्र समीक्षा भइसकेको छैन । त्यसको प्रतिवेदन अनुसार हामी कसरी जाने भन्ने तय गर्छौं । अहिले व्यक्तिगत स्तरका बुझाइ छन् । कुनै नेताले धोका भनेको होला । तर पार्टीले भनेको छैन । सबै पालिकाको कार्यपालिका र जिल्ला समन्वय समितिमा गठबन्धन हुन्छ । संघ र प्रदेशमा पनि हुन्छ ।”
कार्यकालको टुंगो लागेपछि मात्र संघ र प्रदेश निर्वाचनको घोषणा गर्नुपर्ने उनले बताए । डा. भुसालले थपे, “प्रतिनिधिसभाको चुनाव मंसिरमा भयो, सपथ ग्रहण फागुन २१ मा मात्र भयो । कार्यकालको गणना कहिलेबाट हुन्छ ? संविधान र कानुनमा स्पष्ट छैन । स्थानीय तहको पनि कार्यकालबारे पनि विवाद भयो । प्रतिनिधिसभाको त्यस्तो नहोस् भनेर कार्यकालको टुंगो लगाउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्