Logo

एकदुई जना नेताले अतिरञ्जित बहस गर्दैमा एमसीसी रोकिँदैनः डा. गोविन्दराज पोखरेल



काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले एकदुई जना नेताले अतिरञ्जित बहस गर्दैमा एमसीसी नरोकिने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. पोखरेलले भने, “एमसीसीको बहस अब सकिइसकेको छ । एकदुई जना नेताहरुले अतिरञ्जित बहस गर्न खोज्दैमा त्यसले केही फरक पर्दैन । अब हामीले एमसीसीको पैसा लिएर प्रसारण लाइन बनाउने हो । जलविद्युत्मा हाम्रो धेरै लगानी छ । बिजुली बालेर, खाना पकाएर, यातायात चलाएर बचेको बिजुली नजिकको छिमेकीलाई बेच्ने हो ।”
नयाँ बजेट व्यावहारिक भएको उनको टिप्पणी छ । डा. पोखरेलले भने, “यो कार्यान्वयन गर्न सकिने, धेरै गफ नभएको बजेट हो । हाम्रो संयन्त्रले काम गर्न सक्ने किसिमको छ । महत्त्वाकांक्षी कार्यक्रम राखिएको छैन । आयात प्रतिस्थापन गरेर व्यापार घाटा कम गर्ने किसिमका धेरै कार्यक्रम छन् । निजी क्षेत्रसँग समन्वय गरेर युवा जनशक्तिलाई चाहेको सीप दिने भनिएको छ । एमालेले हाम्रै कार्यक्रम ल्यायो भनेको छ, आफ्नै कार्यक्रम भए नराम्रो कसरी भयो ?”
संघ र प्रदेशको निर्वाचन कात्तिक-मंसिरमै गर्नु उचित हुने पनि उनले बताए । डा. पोखरेलले भने, “कात्तिक-मंसिरमा निर्वाचन गराउँदा अनावश्यक रुपमा सत्ता लम्बायो भन्ने सन्देश जाँदैन । हिमाल, पहाड, तराई जताततै निर्वाचन गर्न सकिने परिस्थिति हुन्छ ।”

 



प्रतिक्रिया दिनुहोस्