Logo

उत्तरतिरको उडानमा छिनछिनमा बदलिइरहने मौसमले झुक्याउँछः केबी लिम्बु, वरिष्ठ पाइलट



पोखराबाट जोमसोम हवाई उडानमा जाँदा दाहिनेतिर अन्नपूर्ण र देब्रेतिर धवलागिरी हिमाल पर्छन् । २६ हजार फिटका दुई अग्ला पहाडमुन्तिर कालीगण्डकीको साँघुरो गल्छी छ । जहाज त्यही बाटो हुँदै जाने हो । त्यसैले जोमसोम, लुक्ला, डोल्पा, सिमकोट आदि उत्तरी उडान निगरानी र होसियारी साथ भर्नुपर्ने हुन्छ ।
खासगरी प्रिमनसुनमा चाँड्चाँडो मौसम फेरबदल हुन्छ । अझ भनौं मौसमले झुक्याउँछ । जोमसोममा त झन् १० बजेपछाडि मौसम बिग्रन्छ । कि हुरीबतास चल्छ, कि बादलले ढाक्छ । हाम्रो आफ्नै भिजुअल फ्लाइट रुल्स (भीएफआर) हुन्छ । त्यो भनेको बादलभित्र नछिरीकन डाँडाकाँडा, खोलानाला हेरेर उडाउने हो । तारा एयरको दुर्घटित ट्विनअटरमा त्यो नियम कडाईका साथ पालना भएको देखिँदैन ।
जोमसोम जान घोडेपानी डाँडो छल्न करिब १२ हजार फिटमा उड्नुपर्छ । जोमसोम एयरपोर्ट ८, ८०० फिटमा उचाइमा छ । त्यो भनेको सर्किट हाइट बनाएर ओर्लने प्रक्रिया हो । मौसम खराब हुँदै गएर जहाज माथि माथि चढ्दै गएको हो । टुइनअटर त ३० हजार फिटमा उड्ने त होइन नि ।
प्रिमनसुनमा जति नै अनुभवी पाइलट होस्, प्रकृतिसँग त हामीले खेलबाड गर्न सक्दैनौं । प्रकृति आफ्नै नियममा चल्छ । त्यसैले आफू सुरक्षित भएर जहाज चलाउने हो । किनभने प्रकृति, जहाज र आफ्नो (पाइलट) को पनि सीमा हुन्छ । यी सबै कुरालाई सन्तुलनमा राखेर उडान भर्ने हो । सन्तुलन घटबढ हुनासाथ दुर्घटना हुन्छ । भलै हामी त्यस्तो नहोस् भन्ने चाहन्छौं ।

पोखरा–जोमसोम उडानमा ६ वटा दुर्घटना भइसकेका छन् । ती सबैजसो मौसमी प्रतिकूलता र मानवीय त्रुटिका कारण भएका हुन् । मलाई त के लाग्छ भने, त्यहाँ दिनमा दुइटा फ्लाइट कम्फरटेबल हो । तीनवटासम्म पनि ठीकै छ । मौसम सफा छ भने पनि तीनवटा उडान भइसकेपछि अलिकति निगरानी गर्नुपर्थ्र्यो । दिनमा चारचारवटा उडान हुनु पनि खतिको कारण हो ।
हुन त त्यस जहाजभन्दा एक मिनेट अगाडि समिट एयरको जहाज पनि जोमसोमका लागि उडेको थियो । उसलाई भाग्यले बचायो । किनभने मौसम बिग्रिसकेको थिएन । ठीकठीकै थियो । दुर्घटित जहाज जाँदा कालीगण्डकीबाट बादल माथिमाथि उड्दै डाँडाकाँडा ढाक्दै गयो । अनुभवी पाइलटले अलिकति होसियारीसाथ अलिक परैबाट प्लानिङ गरेर फर्कनुपर्ने हो । सायद प्यासेन्जर वा कम्पनीको प्रेसर पनि होला ।
मैले यसो भन्दा कसैलाई आक्षेप नलागोस् । छानबिन समितिलाई पनि असर नपरोस् । नियम कानुन त सबै राम्रै बनाइएका हुन्छन् । तर अनुगमन चुस्त दुरुस्त भएको हुँदैन । जहाजको मर्मतसम्भार के कस्तो थियो ? इन्जियिनर, मेकानिक, पाइलटहरुको भनाइ के छ ? त्यहाँ भीएचएफ सुन्न सकिँदैन । उहिलेदेखिको समस्या हो । अहिलेसम्म निराकरण भएको देखिँदैन । पोखरा र जोमसोमबीच एउटा रिले स्टेसन किन नराख्ने ?

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले नेपाल वायुसेवा निगमका पूर्वमहानिर्देशक वरिष्ठ पाइलट लिम्बुसँग १८ जेठ बिहान गरेको कुराकानीमा आधारित ।



प्रतिक्रिया दिनुहोस्