Logo

गायक केकेको मृत्यु अस्वभाविक भएको आशंका, पोस्टमार्टमका लागि परिवार कोलकाता पुग्यो



एजेन्सी, १८ जेठ । बलिउडका चर्चित गायक केकेको आकस्मिक निधनले बलिउड जगतसहित करोडौं फ्यान शोकमा परेका छन् । यसैबीच केकेको आकस्मिक मृत्यु अस्वाभाविक मृत्यु भएको आशंका गरिएको छ । तर, पोष्टमार्टमको रिपोर्ट भने आइसकेको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्नेछ ।

मंगलबार साँझ कोलकातामा एक लाइभ कन्सर्टको क्रममा उनले स्वास्थ्य बिग्रिएको गुनासो गरे, जसको केही समयपछि उनी अचानक स्टेजमा लडे । उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार गायक केकेको मृत्युबारे न्यू मार्केट प्रहरी चौकीमा प्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ। परिवारको सहमतिपछि सोधपुछ र पोस्टमार्टम हुनेछ । पोस्टमार्टमको व्यवस्था कोलकाताको एसएसकेएम अस्पतालमा भइरहेको छ। गायक केकेको शवको आज पोष्टमार्टम गरिने बताइएको छ ।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार डाक्टरले केकेको आज पोस्टमार्टम गर्ने बताएका छन् । ताकि उनको मृत्युको वास्तविक कारण थाहा पाउन सकियोस् । तर, उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् । यसैबीच अस्पतालका एक वरिष्ठ अधिकारीले केकेलाई राति १० बजेपछि अस्पताल ल्याइएको र त्यहाँ पुग्दा उनलाई मृत घोषणा गरिएको बताए । यसै क्रममा गायकको परिवार बुधबार कोलकाता पुगेका छन् ।

लाइभ कन्सर्टपछि होटेल पुग्दा उनलाई भारी महशुस भएको थियो, जसपछि उनी अचानक ढलेका थिए । यद्यपि, धेरै रिपोर्टहरूले यो पनि भनेका छन् कि केकेले लाइभ कन्सर्टमा नै असहज महसुस गरे। उनले बत्तीको चमकको बारेमा गुनासो गरे। उनले आफ्नो कन्सर्टको बीचमा ब्रेक पनि लिए, तर भाग्यले रोक्न सकेन।



प्रतिक्रिया दिनुहोस्