दिलमाया शाही/जुम्ला, १८ जेठ : सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जनताको आस्था मरेको न्यायपालिका असफल हुने बताएका छन् । जुम्लामा द्वन्द्वकालमा जलेर नष्ट भएका सुर्खेत जुम्ला उच्च अदालत र जिल्ला अदालत जुम्लाको दुई वटा भवनको उद्घाटनका क्रममा उनले उक्त धारणा राखेका हुन् ।
न्यायपालिका जनताको आस्थाको धरोहर भएको उनको भनाइ थियो । ‘देशमा संविधान पनि छ । कानुन पनि छ । केही न्यायपालिका परिवर्तनसमेत भएको छ,’ उनले भने, ‘नेपालमा जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले सुरु गरेको छ ।’
कार्कीले मुद्दाको दर्तादेखि फैसलासम्म मात्रै नभई त्यसबाट आउने सकारात्मक प्रतिफलबाट नागरिकले न्याय पाउनेमा जोड दिए । उनले सर्वोच्च अदालतमा अहिले धेरै मुद्दा हुने भएकाले गोला प्रथाबाट मुद्दा हेर्न सुरु गरिएको बताए । ‘अब स्वचालित मेसिनबाट मुद्दा हेर्न सुरु भएको छ । छिटो छरितो, निष्पक्ष र प्रभावकारी ढंगबाट न्यायसेवा दिन हामी प्रतिबद्ध छौं,’ उनले भने ।
त्यस्तै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले सजिलो बनाउन मुद्दाको वर्गीकरण गरेको बताए । सुर्खेत जुम्ला उच्च अदालत इजलास सुर्खेतका प्रमुख न्यायाधीश शेषराज शिवाकोटीले अब संरचना बन्दैमा सबै थोक नपुग्ने बताए । उनले भौतिक संरचनासँगै दक्षजनशक्ति पनि आवश्यक रहेको बताए ।