Logo

प्रचण्ड कांग्रेससँगको गठबन्धन नतोड्ने पक्षमा, हिजोको अभिव्यक्तिको मनशाय अर्कै रहेको स्पष्टोक्ति



काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू यही पाँच दलीय गठबन्धनको पक्षमा रहेको स्पष्ट पारेका छन् । यही गठबन्धन नै आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने दाहालको भनाई छ । उनले त्यसको लागि अहिले शीर्ष तहमा छलफल जारी रहेको बताएका छन् ।

हिजो आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले पनि दम्भ पाले एमालेको हालत बनाईदिने भनेर दिएको चेतावनीलाई लिएर विभिन्न टिकाटिप्पणी भएपछि दाहालले आफू यही गठबन्धनलाई नै निरन्तरता दिन चाहेको र आफ्नो अभिव्यक्तिको मनशाय गठबन्धन तोड्ने नरहेको स्पष्ट पारेका छन् ।

पत्रकार ऋषि धमलासँग संक्षिप्त कुरा गर्दै प्रचण्डले बहुमत पाएपछि दलहरुमा अहंकार र दम्भ पलाउने गरेको स्मरण गराउँदै कांग्रेसले पनि त्यस्तो दम्भ नदेखाओस भनेर यस्तो भनेको स्पष्ट पारे । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस पहिलो दल बनेको र उसले दम्भ देखाउन थालेको आफूकहाँ रिपोर्ट आएको स्मरण गराएका थिए ।

प्रचण्डले कांग्रेसलाई पनि एमालेकै हालतमा पुर्याईदिने भनेर अभिव्यक्ति दिएपछि कांग्रेसकै शीर्ष नेताहरुले त्यसको विरोध जनाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले त प्रचण्डलाई जवाफ दिएका छन् । उनले कांग्रेस हार्न तयार रहेको बताएका छन् । तर, देश र जनताको जितको लागि कांग्रेस जहिलेपनि हार्न तयार रहेको उनको अभिव्यक्ति थियो ।



प्रतिक्रिया दिनुहोस्