एजेन्सी, २० जेठ । पाकिस्तानमा कार्यक्षेत्रमा ७० प्रतिशत महिलामाथि र्दुव्यवहारका घटना हुनेगरेको तथ्यांक सार्वजनिक भएको छ । डेली टाइम्स पत्रिकाले रिबन पाकिस्तान नामक संस्थाले गरेको अध्ययनबाट तयार पारेको रिपोर्ट सार्वजनिक गर्दै र्दुव्यवहारबारे उल्लेख गरेको हो ।
हालैमात्र एउटा र्दुव्यवहारको घटना खुलेको छ जसमा इटालीका लागि पूर्व पाकिस्तानी राजदूत नदिम रियाज नै मुछिएका छन् । रियाजमाथि एकजना व्यापार अधिकृतमाथि र्दुव्यवहारको आरोप छ । पाकिस्तानी पत्रिका डेली टाइम्सले र्दुव्यवहारबारे उल्लेख गरेको छ ।
रिपोर्टमा हरेक दिन ७० प्रतिशत महिलाहरुमाथि कार्यक्षेत्रमा र्दुव्यवहार हुनेगरेको उल्लेख छ । कतिपय महिलाले र्दुव्यवहारका कारण काम नै छाड्ने गरेको जनाइएको छ । कतिपयले र्दुव्यवहार सहेर भएपनि रोजीरोटीका लागि काम गर्ने गरेका छन् । कतिपय महिलाले जागिर बदल्ने गरेका छन् ।
रिबन पाकिस्तानले २००४ देखि २०१६ बीच पाकिस्तानमा ४ हजार ७३४ यौनजन्य हिंसा भएको तथ्यांक उल्लेख गरेको छ । पाकिस्तानमा बढ्दो संख्यामा महिलाहरु घरबाहिर पनि कामकाजी हुन थालेको तर र्दुव्यवहारको सामना गर्दै आएको जनाइएको छ ।