Logo

नर्सरीबाट मनग्ये आम्दानी



काठमाडौँ,२० जेठ । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाका एक कृषकले रु ४० लाखको लगानीमा डेढ रोपनी जग्गामा स्थापना गरेको नर्सरीमा ४० हजार बढी सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् ।

मङ्गला–४ बरङ्जाको आरकुलीका रेशम बुढाथोकीले आफ्नै घरछेउमा जग्गामा नर्सरी स्थापना गरी मनग्ये आम्दानीसमेत गर्दै आएका छन् ।

उनका नर्सरीमा अहिले १८ महिनाका २५ हजार र ३२ महिनाका करिब १५ हजार स्थानीय बाँसखर्क जातका सुन्तलाका बिरुवा बिक्रीका लागि तयारी भएको उनले जानकारी दिए । नर्सरीमा उत्पादन गरिएका सुन्तलाका बिरुवाको परीक्षण (पिसिआर) पनि गरिएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट विज्ञको टोली ल्याई परीक्षण गर्दा बिरुवामा रोग नदेखिएको उनले बताए ।

एक हजार ६३० मिटरको उचाइमा उत्पादन गरिएको बिरुवा भएकाले उत्पादन राम्रो दिने उनको भनाइ छ । जिल्ला तथा आसपासका कृषकलाई नर्सरीमा आई बिरुवा खरिद गरी व्यावसायिक सुन्तला खेती गर्न बुढाथोकीले अनुरोध गर्नुभएको छ । विसं २०६९ देखि व्यावसायिक कृषि पेशा अँगालेका बुढाथोकीको नर्सरीमा हाल सुन्तलासँगै एक हजार २०० ओखरका बिरुवा, चार हजार कागतीका बिरुवा, चार हजार टिमुरका बिरुवा र पाँच हजार डालेघाँसलगायतका बिरुवा तयारी अवस्थामा छन् ।

यसबाहेक ८४ किवीका बोटले अघिल्लो वर्षदेखि उत्पादन दिन सुरु गरेका छन । बरङ्जा नर्सरी तथा पशुपन्छी पालन फर्म दर्ता गरी व्यावसायिक कृषिमा पेसामा लागेका बुढाथोकीको नर्सरीमा हालसम्म करिब रु ४० लाख लगानी पुगको छ । गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र बेनीबाट प्राप्त रु पाँच लाख अनुदानले दुई वटा ग्रीन हाउस निर्माण गरेको कृषक बुढाथोकीले बताए ।

यस्तै क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट रु दुई लाख ५० हजार बराबरको कृषि सामग्री सहयोग प्राप्त भएको उनको भनाइ छ । तयारी भएका सुन्तलाको बिरुवाको बजारमा भने समस्या भएको छ । बुढाथोकीले नर्सरीबाट वार्षिकरुपमा रु पाँच लाख आम्दानी गर्दै आएका छन् । यसका अलवा उनले बाख्रा र माछा पनि पाल्दै आएका छन् । बाख्रापालनबाट पनि राम्रो आम्दानी भइरहेको छ । कुषि व्यवसायमा उहाँलाई गौमती बुढाथोकीले पनि साथ दिएका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्