Logo

इमरान खानको हत्याको षड्यन्त्रको हल्लाले इस्लामावादमा उच्च सुरक्षा सतर्कता



एजेन्सी, २२ जेठ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको हत्याको हल्ला चलेको छ । उनको हत्याको षड्यन्त्र भएको हल्लासँगै इस्लामावादमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

इस्लामावादसँगै छेउको क्षेत्र बानी गाला शहरमा पनि उच्च सतर्कता अपनाइएको छ । पाकिस्तान प्रहरीले इस्लामावादमा कसैलाई पनि समूहमा जम्मा हुन नपाउने गरी निर्देशन जारी गरेको छ । इस्लामावाद प्रहरीले ट्वीट गर्दै सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

इमरान खानलाई पनि कडा सुरक्षा दिइएको भनिएको छ । खानका भतिजा हसन नियाजीले पाकिस्तान तेरिक ई इन्साफका प्रमुखमाथि कुनै किसिमको आक्रमण भएमा पाकिस्तानमाथिको आक्रमण मानिने बताएका छन् । उनले त्यसको आक्रामक जवाफ दिइने स्पष्ट पारे ।

खानको दलका नेताहरुले देशको हितमा शक्तिराष्ट्रसँग सम्झौता गर्न नमान्दा हत्याको षड्यन्त्र भइरहेको बताइरहेका छन् । खान पछिल्लो समय अमेरिकाको कटु आलोचक बनेका छन् । उनले अमेरिकाले आफूलाई प्रधानमन्त्रीबाट हटाउन षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्