समाचार विश्लेषण । नेपालमा सरकार परिवर्तनसँगै फरक शक्तिराष्ट्रको सक्रियताले यसभित्रका भित्री पाटाहरु खुल्दै जान थालेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनको सक्रियता निकै बढेको छर्लङ्ग थियो । उनले चीनसँग महत्वपूर्ण सम्झौताहरु पनि गरेका थिए । चिनियाँ कम्पनीहरु नेपालको पूर्वाधार निर्माणमा धमाधम आए ।
ओली प्रधानमन्त्री हुँदा सगरमाथाको विषय फेरि उठ्यो । तर, ओली सरकार मौन बस्यो । जब शेरबहादुर देउवा प्रधानमन्त्री बने तब चीनसँगको सीमा समस्याको विषय खोतलियो । हुम्लामा सीमा अतिक्रमणको विषय मात्र उठेन अध्ययन टोली नै गठन गरियो । जसको प्रतिवेदन अझै गोप्य राखिएको छ ।
देउवा प्रधानमन्त्री भएपछि अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लो हुन थाल्यो । एमसीसी पारित भयो । जसरी ओलीको कार्यकालमा चिनियाँ अधिकारीहरुको दौडधूप बाक्लो भयो त्यही शैलीमा देउवाको कार्यकालमा अमेरिकीहरु आउन थाले । एकजना अमेरिकी उपसहायकमन्त्री उज्रा जीयाले त तिब्बती शरणार्थी शिविरमा पुगेर भेट गरिन् ।
यी घटनाहरुले सरकार परिवर्तनमा विदेशी स्वार्थ र चासोहरु छताछुल्ल भए । कुनै एक देशलाई अर्को देशविरुद्ध कार्डका रुपमा प्रयोग गर्ने प्रवृत्ति सरकारमा पुग्नेहरुमा देखियो । अर्कोतर्फ, अमेरिका र चीनले नेपालमा ठूलै टकराव गरिरहेका छन् ।
त्यसो त सँसारभर अमेरिका र चीनको टकराव बढ्दै गएको छ । यसको असर नेपालमा पनि परेको छ । नेपालको भूराजनीतिक संवेदनशीलतामा शक्ति राष्ट्रहरुको प्रतिष्पर्धाले अवसर र चुनौती दुवै बढेको छ । तर, बढ्दो टकरावसँगै शासनमा रहेकाहरुले सुझबुझ नअपनाए दुर्घटनाको खतरा छ । सरकार परिवर्तनमा बाह्य चलखेल र कुनैपनि सरकारलाई असफल बनाउन पनि बाह्य शक्ति खुलेआम लाग्नुले समस्याहरु बढाएको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपालमा सबैभन्दा बढी चिनियाँ अधिकारीको दौडधूप चल्यो । ओलीले चीनसँगको बीआरआईलाई अगाडि बढाउन खूबै मिहेनत गरे । चिनियाँ राष्ट्रपति सी चिनफिङ ओली प्रधानमन्त्री हुँदै नेपाल भ्रमणमा आए । ओलीको कार्यकालमा चिनियाँ कम्युनिस्ट पार्टी र तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबीच संयुक्त प्रशिक्षण नै चल्यो । प्रशिक्षणमा सहभागिताका लागि नेकपाका तत्कालीन नेताहरुको तछाडमछाड नै भयो । नेपालको इतिहासमै यसअघि कहिले नभएको चीनको चहलपहल नेपालमा देखियो । चिनियाँ कम्पनीहरुले विभिन्न परियोजनाको जिम्मेवारी पाए ।
अहिले परिस्थिति बदलिएको छ । ओलीको बर्हिगमनपछि शेरबहादुर देउवा प्रधानमन्त्री बने । उनी सत्तामा आएलगत्तै अमेरिकी विकास परियोजना एमसीसी पारित गराउनतर्फ लागे । अमेरिकी अधिकारीहरु नै यसका लागि नेपाल आए । शिर्ष नेताहरुलाई दबाब दिएको खुल्यो । एमसीसी पारित भयो । त्यसपछि अमेरिकाले थप आर्थिक सहयोगको घोषणा गर्यो । यी घटनापछि चीन आक्रामक रुपमा प्रस्तुत हुने संकेतहरु देखिएका छन् ।
विगतमा कम्युनिस्टहरुलाई एक बनाएर चीनले आफ्नो उपस्थिति बढाउन सकेको थियो । उसले फेरि कम्युनिस्ट मिलाउने रणनीतिलाई गति दिन थालेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही नेताहरु ओली र प्रचण्ड मिलाउन सक्रिय भएका छन् । ओली र उपेन्द्र यादवको भेट भइसकेको छ । माधव नेपालमाथि नेकपा एसमा एमालेसँगको एकीकरणको दबाब बढेको छ । यी दबाबहरु बढ्दै जाँदा आगामी चुनावसम्म घटनाक्रम नयाँ ढंगले विकास हुनसक्ने देखिन्छ ।
कम्युनिस्ट पार्टी फुट्न नदिन चिनियाँ अधिकारीहरु खुलेरै लागेका थिए । चिनियाँ राजदूत होउ यान्छी त्यतिबेला निकै सक्रिय भइन् ।सामरिक रुपमा संवेदनशील ठाउँमा रहेको नेपालमा अमेरिका र चीनको टकराव स्वाभाविक पनि हो । तर, यो टकराव पेचिलो बन्दै जाँदा आन्तरिक राजनीति अस्थिर बन्न सक्छ । ओलीले खुलेआम अमेरिकी सक्रियताको विरोध गरेका छन् । उनले अमेरिकी मन्त्री जियाले गुम्बा गुम्बामा स्कटिङसहित भेटेको विषय उठाएका छन् । पूर्वप्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताले यो विषय उठाउनृु सामान्य विषय होइन । तर, उनै ओलीले विगतमा चीनलाई असाध्यै खिचेर नेपाल मामलामा ल्याएका थिए । देउवाले पनि ओलीकै शैलीमा अमेरिकालाई खिचेर तानिरहेको देखिदैछ ।
नेपालको राजनीतिमा एउटा महाशक्तिलाई खिचेर अर्को महाशक्तिलाई अप्ठ्यारो पार्ने कार्यशैली सत्तामा रहनेहरुमा देखिदै आएको छ । शक्ति सन्तुलन कायम राख्ने चार्तुयता देखाउने भन्दा कुनै एक महाशक्तिसँग बढी निकटता बनाउने शैलीले समस्याहरु ल्याउने गरेको छ । स्वयं सत्तामा चुनौती आउने देखि देशको राजनीतिक स्थिरतामा समेत चुनौती बढ्ने गरेको छ । अमेरिकाविरुद्ध चिनियाँ कार्ड र चीनविरुद्ध अमेरिका कार्डले राजनीतिलाई चुनौतीपूर्ण बनाउँदै लाने देखिएको छ ।