Logo

प्रचण्ड र माधव नेपालले आफ्नो विकल्प खोज्न गृहकार्य थालेपछि देउवा ओलीसँग नजिकिए



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभाको निर्वाचन कार्तिक वा मंसिरभित्रै गर्नेगरि परामर्शमा जुटेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री देउवाको ध्यान संघीय संसद्को निर्वाचनतिर छ । सत्ता गठबन्धनमा भने खटपट सुरु भएको छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल नेपाली कांग्रेससँग रुष्ट बनेका छन् । उनीहरुले प्रतिनिधिसभाको चुनाव अघि नै प्रधानमन्त्री देउवाको विकल्प खोज्नेगरि गृहकार्य थालेको चर्चा छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई अहंकार नपाल्न चेतावनी दिएका छन् । उनले अहंकार पालिरहे कांग्रेसको हालत पनि एमालेजस्तो बनाईदिने चेतावनी दिएका छन् । अहिले प्रचण्ड र माधव नेपालले त आफूहरुलाई प्रधानमन्त्री बन्ने अफर आएको समेत खुलासा गरेका छन् ।

उनीहरुले एमालेबाट आफूहरुलाई प्रधानमन्त्री बन्न अफर आएको खुलासा गरेपनि एमाले नेतृत्वले त यसमा कुनै सत्यता नभएको जिकिर गरेका छन् । प्रधानमन्त्री देउवाले आफूलाई हटाउनेगरि प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले नयाँ गृहकार्य थालेको सुईँको पाएपछि नयाँ समिकरण बनाउनेगरि छलफल थालेका छन् ।

हिजोमात्रै उनले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् । उनले यही बीचमा आफ्ना दूतहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नको लागि पनि पठाएका छन् । केही समय पहिले एमाले अध्यक्ष ओलीले आफूले चाहने हो भने यो गठबन्धन एक साताभित्रै ढालिदिने चेतावनी दिएका थिए । file photo

 



प्रतिक्रिया दिनुहोस्