एजेन्सी, २२ जेठ । पाकिस्तानमा जारी राजनीतिक उथलपुथलका बीच शनिबार पूर्वप्रधानमन्त्री इमरान खानको हत्या भएको हल्लाले वातावरण तातेको छ । यो खबर फैलिने बित्तिकै इस्लामाबाद प्रहरी विभाग उच्च सतर्कतामा आएको छ । इस्लामाबादमा धारा १४४ पहिले नै लगाइएको छ र सार्वजनिक सभाहरूमा प्रतिबन्ध लगाइएको छ।
इस्लामाबादमा रहेको इमरान खानको आलिशान घर गालामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बानीगालामा विशेष सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । तर, यहाँ को–को छन् भन्नेबारेमा प्रहरीले जानकारी दिएको छैन । जिल्ला अधिकारीको आदेश अनुसार उक्त क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
इस्लामाबाद प्रहरीले इमरान खानलाई पूर्ण सुरक्षा दिने र उनको टोलीबाट पनि सहयोगको अपेक्षा गरेको बताएको छ । अर्कोतर्फ इमरान खानका भतिजा हसन नियाजीले पूर्वप्रधानमन्त्रीलाई केही भयो भने त्यसलाई पाकिस्तानमाथि आक्रमण मानिने बताएका छन् ।
इमरान सरकारमा मन्त्री रहेका फवाद चौधरीले खान आइतवार इस्लामाबाद आउँदै गरेको बताएका थिए । चौधरीले अप्रिलमा पनि देशको सुरक्षा निकायले इमरान खानको हत्याको षड्यन्त्र भएको बताएका थिए । पाकिस्तान तहरीक–ए–इन्साफका नेता फैसल वावडाले पनि यस्तै दाबी गरे कि “देश बेच्न“ अस्वीकार गरेकोमा पाकिस्तानी प्रधानमन्त्रीको हत्या गर्ने षड्यन्त्र रचिएको थियो।
केही दिनअघि इमरान खानले उनको हत्याको सम्भावना व्यक्त गरेका थिए । खानले भनेका थिए– ‘मेरो ज्यान खतरामा छ । मलाई मार्न चाहने पाकिस्तान भित्र र बाहिर केही मानिस छन् । म ती सबै मानिसहरूलाई चिन्छु। मैले भिडियो रेकर्ड गरी सुरक्षित ठाउँमा राखेको छु। यदि म मारिए भने यो भिडियोले यी सबैको नाम सार्वजनिक गर्नेछ।’
इमरान खानले विगतमा धेरै पटक आफ्नो ज्यान खतरामा रहेको बताएका छन् । सत्ताबाट हट्नुअघि उनले आफ्नो ज्यान खतरामा रहेको बलियो प्रमाण रहेको बताएका थिए ।