बखतियार अलि, सर्लाही २२ जेठ । सर्लाहीमा एउटा प्रादेशिक अस्पतालसहित सयौंको संख्यामा निजी क्लिनिक तथा स्वास्थ्य केन्द्रहरु संचालनमा रहेपनि एउटा एक्स-रे , सिटी स्क्यान र एम.आर.आई. जस्ता जाँच गराउन जिल्ला बाहिर वीरगञ्ज, जनकपुरलगायतका सहरहरुमा जानुपर्ने बाध्यता रहँदै आएको छ ।
मधेश प्रदेशमा रहेको सर्लाहीबाट प्रदेशदेखि केन्द्रीय सरकारसम्ममा प्रतिनिधित्व छ । जुनसुकै पार्टीको सरकार बनेपनि यस जिल्लाबाट मन्त्री नभएकाे सरकार छैन। तरपनि जिल्लावासीहरूलाई सानाे सुविधा समेत उपलब्ध नभएपछि यहाँका जनताहरु निरास भएका छन् । यस जिल्लाबाट पटक- पटक दर्जनाै ब्यक्ति मन्त्री बनेपनि जनताकाे आधारभूत आवश्यकता पूरा नभएपछि सर्लाहीका जनताहरु समस्या भाेग्न बाध्य भएका हुन् ।
जम्मा ५ हजार रुपैयाँमा गर्न मिल्ने सिटी स्केन र एम.आर.आई. का लागि जिल्लाबाहिर अथवा भारतको विभिन्न ठूला सहरमा जानुपर्दा सर्वसाधारण नागरिकहरुलाई ५ हजारकाे ठाउँमा ५० हजार वा सो भन्दा बढी आर्थिक भार खेप्नु परेकाे छ । हुने खाने र धनी ब्यक्तिलाई समस्या नभएपनि गरिब, विपन्न र निमुखा जनताहरूलाई एक्स-रे गराउनका लागि बाहिर जानु पर्दा ठुलाे आर्थिक भार थपिएको सर्वसाधारण मानिसहरूले गुनासाे गरेका छन् ।