Logo

बालुवाटारमा चार शीर्ष नेताहरु छलफलमा



काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) ले अकस्मात् मन्त्रीहरु हेरफेरको लागि नयाँ नाम सिफारिश गरेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव छलफलमा बसेका छन् ।

प्रधानमन्त्री देउवा माधव नेपालको पछिल्लो निर्णयबाट असन्तुष्ट छन् । उनले बजेट आएको र मन्त्रीहरुले बजेटबारे उठेको जवाफ दिन नपाउँदै हेरफेर गर्ने निर्णय गर्नु उचित नभएको गुनासो पोखेका छन् । एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्न लागेपछि सरकारमा सहभागी अन्य दलहरुमा पनि दबाब सिर्जना भएको छ ।

माओवादी केन्द्रमा पनि मन्त्री हुनको लागि खुट्टा उचालेर बसेकाहरु छन् । उनीहरुले पार्टी नेतृत्वसमक्ष दबाब दिन सुरु गरेको हल्ला चलिरहेको छ । आजको छलफलमा शीर्ष नेताहरुले प्रतिनिधिसभाको निर्वाचनको मितिबारे पनि छलफल गर्ने र त्यसमा कसरी गठबन्धन गर्ने भन्नेबारे छलफल गर्ने बताईएको छ।

खासगरी प्रतिनिधिसभामा सिट बाँडफाँटको टुँगो लगाउनेगरि उनीहरु छलफलमा जुटेका हुन् । कांग्रेसले सम्माजनक सिट बाँडफाँट नगरे कांग्रेसबाहेकका सत्ता घटकहरु एकजुट हुने चर्चा चल्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्