Logo

इम्बोस्ड नम्बर प्लेट देउवाका लागि भारी बन्दै गर्दा ओली दंग



काठमाडौं, २४ जेठ । कमिशनको खेल यति धेरै भइसकेको छ कि न पछाडि फर्कन मिल्ने । विरोध यति धेरै भइसकेको छ कि न अगाडि बढ्न मिल्ने । इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन गराउनकै लागि क कस्लाई कहाँ कहाँ नियुक्ति गरियो भन्ने पनि छर्लङ्ग भइसकेको छ । अरबौंको खेल अन्तर्गत पुनः सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल ल्याइएको खुलिसकेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयकी रेनु यादवमाथि जसपा अध्यक्ष उपेन्द्र यादवले पनि कडा दबाब सृजना गर्न सके । जसका कारण यातायात व्यवस्था विभागले धम्कीयुक्त भाषामा १ साउनबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न भनेको छ । देशव्यापी विरोध आएपछि विभागका हाकिम नयाँलाई मात्र हो पुरानालाई होइन भन्न थालेका छन् । तर, चुरो कुरा कमिशन पनि खाने र देशको मातृभाषा पनि सखाप पार्ने रहेको छ । यसमा को को योजनावद्ध तरिकाले लागे र प्रभावित भए पर्दाहरु खोलिन थालेका छन् ।

संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ । यसैका आधारमा इम्बोस्ड नम्बर प्लेटको प्रयोगविरुद्ध परेको रिटमा तत्कालीन प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको इजलासले आदेश जारी गरेर रोकिदिएका थिए । तर, पासपोर्टको सन्दर्भ देखाएर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास नै गठन गरेर प्रयोग खुला गर्ने गरी फैसला गरिदिए । तर, भाषाविद्हरुको विरोधका कारण रोकिएको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेर अरबौं तान्ने खेल भयो ।

चुनावको मुखमा भाषा र लिपिमाथि प्रहार गर्ने गरी भएको कदमको सर्वत्र विरोध भएको छ । नेपाली काँग्रेसभित्र यो कदमले कम्पन नै आएको छ । महामन्त्री गगन थापाले संसदमै यसको विरोध गरेका छन् । काँग्रेसका नेता कार्यकर्ता यही कारणले चुनावमा धक्का लाग्न सक्ने आँकलन गर्न थालिसकेका छन् ।

विरोधको स्वर देशव्यापी चुलिइसकेको छ । सवारी साधन प्रयोग गर्ने दशौं लाख नागरिक क्रुद्ध छन् । एकातर्फ कमिशनको खेल खुलिसकेको छ अर्कोतर्फ मातृभाषामाथिको योजनावद्ध प्रहारको पर्दा उघ्रिएको छ । भित्र भित्र आक्रोश बढिरहेको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवालाई घेराबन्दीमा पार्नेहरुले गलत सूचना पुर्याइरहेका छन् ।

विश्वस्त स्रोतका अनुसार केही दिन मान्छे चिच्याउने र अन्तमा सबैले इम्बोस्ड नम्बर प्रयोग गर्ने सूचना बालुवाटार पुर्याइएको छ । मानिसहरु इम्बोस्ड नम्बर प्लेट हाल्न आतुर झै देखिएको तस्बिर देखाउन थालिएको छ बालुवाटारमा । तर, तल्लो इकाईका काम गर्ने काँग्रेस नेता कार्यकर्ता चुनावमा धक्का पुग्न सक्ने बताउन थालेका छन् ।

एमालेको एउटा समूह केपी शर्मा ओलीले इम्बोस्ड नम्बर प्लेटलाई प्रयोग रोकेको हल्ला चलाइरहेका छन् । वास्तवमा ओलीले नै विकल पौडेललाई विगतमा सुरक्षण मुद्रणमा नियुक्ति दिलाएका थिए । अहिले पनि उनै पौडेल आएका छन् । यसका पछाडि ठूलै शक्ति लागेको बुझिएको छ ।

संविधान बमोजिम नेपालमा बोलीचालीका मातृभाषाबाहेक कामकाजको भाषा हुँदैन । तर, सडकमा गुड्ने सवारी साधनमा कसरी रोमन लिपि थोपर्न खोजियो भन्ने गहिरो अध्ययनको विषय बनिसकेको छ । यसका पछाडि ठूलै शक्ति लागेको खुल्न थालिसकेको छ ।

इम्बोस्ड नम्बर प्लेट प्रकरणले सर्वसाधारणमा सरकारप्रति आक्रोश बढ्दै गर्दा चुनावको मुखमा सबैभन्दा नोक्शान नेपाली काँग्रेसलाई पर्न सक्ने देखिएको छ । काँग्रेसका जिम्मेवार नेता तथा कार्यकर्ताले नै यसको विरोध गरिरहेका छन् । कतिपयले सामाजिक सञ्जालमा भोट घट्ने भो सम्म भन्न थालेका छन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने दंग छन् । उनले अहिले नै यसको विरोधमा कार्यकर्ता उतारेका छैनन् । यो प्रकरणले जनतामा देउवाप्रति आक्रोश बढ्ने र एउटा चरणमा मात्र कार्यकर्ता उतार्ने गरी ओली लागेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्