काठमाडौं, २६ जेठ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस मत र सिट दुवैमा पहिलो भएको निष्कर्ष निकालिएको छ ।
कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिले आज सार्वजनिक गरेको प्रतिवेदनमा मुख्य प्राप्ति र निष्कर्ष समेटिएको छ ।
उपसमितिका केन्द्रीय सदस्य तथा संयोजक प्रदीप पौडेलले आज सभापति शेरबहादुर देउवा र उपसभापति तथा स्थानीय तह केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक पुर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले ७५२ मध्ये ३२९ पालिका, १६६५ वडामा जित हासिल गरेको छ । विजयी भएका पालिकाका अध्यक्षमा १८८ र प्रमुखमा १४१ जना विजयी भएका छन् । जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउछ त्यस्तै, उपप्रमुख पदमा कांग्रेसले ३०० स्थानमा विजयी हासिल गरेकोमा १९० उपाध्यक्ष र ११० उपप्रमुखले विजयी भएका छन् । जुन कुल स्थानको ४० प्रतिशत हुन्छ ।
प्रतिवेदन अनुसार वडामा देशभरमा कांग्रेसले ३८ लाख ८३ हजार १३८ मत प्राप्त गरेको छ । त्यस्तै, प्रदेशगत रुपमा पनि कांग्रेस पहिलो स्थानमा छ ।
प्रतिवेदन अनुसार ७५३ स्थानीय तह मध्ये ३२४ पालिकामा गठबन्धन भएको हो । काँग्रेसले गठबन्धनसहित २०९ मा उम्मेदवारी दिएकोमा १२८ पालिका प्रमुख जितेको छ ।