Logo

सातै प्रदेशमा प्रशिक्षण दिँदै एमाले



काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीभित्र अनुशासनहीन काम बढ्दै गएको निष्कर्षसहित सातवटै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण दिने भएको छ । पार्टी नीति, सिद्धान्त, विधानविपरीतका गतिविधि बढेको निष्कर्षसहित एमालेले प्रशिक्षण दिन लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललिपुरमा मंगलबार बसेको एमाले अनुशासन आयोग बैठकले सातै प्रदेशमा अनुशासनसम्बन्धी प्रशिक्षण दिने निर्णय गरेको आयोगका अध्यक्ष केशव बडालले बताए ।

पार्टीभित्र देखापरेका अनुशासनहीनतालाई वैचारिक रूपमा परास्त गर्ने मूल उद्देश्यका साथ साउन महिनाको दोस्रो साताबाट अन्तिम सातासम्म प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको बडालले बताए ।

बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता, सिद्धान्त र अनुशासनविपरीतका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ । प्रशिक्षण कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, सदस्य, जिल्ला कमिटीका पदाधिकारीलगायतको सहभागिता हुनेछ ।

‘हाम्रो आयोगले सातै प्रदेशमा अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्टीको सिद्धान्त, कार्यक्रम र कार्यनीति’दयगत प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गरेको छ । साउन महिनाको दोस्रो हप्तादेखि चौंथो हप्तासम्म सक्नेगरी सो प्रशिक्षण कार्यक्रम राखिनेछ,’ बडालले भने, ‘त्यो प्रशिक्षणको विषयवस्तुमा मुख्यतः केन्द्रीय अनुशासन आयोगको अधिकार, कर्तव्य, दायित्व र केन्द्रीय अनुशासन आयोगलाई सबै केन्द्रीय कमिटी, प्रदेश कमिटी, पार्टी जिल्ला कमिटी, सम्पर्क कमिटीहरूले हेर्ने दृष्टिकोणसम्बन्धी सवालमा र सहकार्य अघि बढाउने सवालमा अनुशासन आयोग र पार्टी कमिटीबीच हातेमालो गरेर अघि बढाउने विषय नै प्रशिक्षणका विषयवस्तु हुन जान्छन् ।’

पार्टीभित्र अहिले देखापरेका केही केही समस्यालाई हल गर्ने विषयमा र पार्टीभित्र देखापरेका केही अनुशासनसम्बन्धी समस्यालाई यही वैचारिक शिक्षाद्वारा अनुशासित पंक्ति निर्माण गर्न जोडदार रूपमा प्रयत्न गर्ने उनले बताए ।

आयोगको बैठकले उमानाथ ओली, प्रदीप प्याकुरेल, लालमणि चौधरी, दीपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्