Logo

अर्थमन्त्रीले धेरै राम्रो काम गर्नुभएको छ, सबै क्षेत्रबाट बजेटको प्रशंसा भएको छ : मन्त्री यादव (भिडिओसहित)



काठमाडौं, १ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले वर्तमान सरकार सबै मोर्चामा सफल रहेको दाबी गरेका छन् । उनले अर्र्थमन्त्री जनार्दन शर्माले धेरै नै राम्रो काम गरेको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले भने–‘यो सरकारले राम्रो काम गरेको छ । सबै क्षेत्रबाट बजेटबारे पनि प्रशंसा भएको छ । अहिले अर्थमन्त्री जनार्दन शर्माजीले धेरै राम्रो काम गर्नुभएको छ । अहिले उहाँको राजीनामा माग्नु गलत हो ।’ उनले अहिले सरकारमा भएका सबै मन्त्रीहरुले राम्रो काम गरेको दाबी गरे । कुनैपनि मन्त्रीले नराम्रो काम नगरेको उनको दाबी छ ।

उनले अहिलेको पाँच दलीय गठबन्धन झनै बलियो बनेको सुनाए । वर्तमान सरकार नढल्ने पनि उनको दाबी थियो । उनले यही गठबन्धन र यही सरकारले आगामी संघीय संसद्को निर्वाचन सम्पन्न गर्ने सुनाए । उनले अब नेपालमा वाम गठबन्धनको कुनै आवश्यकत्ता नरहेको औंल्याए ।

जसपाका शीर्ष नेतासमेत रहेका मन्त्री यादवले आफ्नो पार्टी नफुट्ने पनि दाबी गरे । तर, पार्टी सामूहिक भावना र नेतृत्वले चल्नुपर्नेमा भने उनको जोड थियो । उनले अध्यक्ष उपेन्द्र यादवले पनि विधि र विधानलाई फलो गर्नुपर्नेमा जोड दिए । उनले आफूहरुले यसअघि पनि पार्टी जोगाएको सुनाए । उनले अब पार्टीभित्र कुनै दुर्घटना भए यसको दोष अध्यक्ष उपेन्द्र यादवले लिनुपर्ने पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्