Logo

संस्कृत पुस्तकालय स्थापना



काठमाडौँ,६ असार । यहाँको धार्मिक एवं ऐतिहासिकस्थल छाङ्छाङ्दी (छायाँक्षेत्र) मा ‘योगी नरहरिनाथ संस्कृत पुस्तकालय’ स्थापना गरिएको छ ।

विश्व हिन्दू युवा सङ्घको पहलमा प्रसिद्ध धार्मिक एवं ऐतिहासिकस्थल छाङ्छाङ्दीमा पुस्तकालय स्थापना गरिएको हो । आधुनिकताका नाममा संस्कृत भाषा लोप हुन नदिनका लागि र यसको महत्व तथा प्रचारप्रसारमा जोड दिने उद्देश्यसहित संस्कृत पुस्तकालय स्थापना गरिएको विश्व हिन्दू युवा सङ्घ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।

“योगी नरहरिनाथले लेखेका पुस्तकको सङ्कलन गरेर पुस्तकालयमा राखेका छौँ, संस्कृत भाषाका अन्य पनि पुस्तक राखेका छौँ”, उनले भने, “संस्कृतको महत्वकाबारेमा आम नागरिकलाई बुझाउन सकेको खण्डमा संस्कृत भाषा लोप हुनबाट बचाउन सकिने ठानेर संस्कृत पुस्तकालय स्थापना गरेका हौँ ।”

पुस्तकालय स्थापनाका क्रममा योगी नरहरिनाथले लेखेका र अन्य संस्कृत भाषाका पुस्तक विभिन्न ठाउँबाट सङ्कलन गरेर ल्याएर राखिएको छ । भीरकोट– ४ मा अवस्थित छाङ्छाङ्दीमा स्थापना गरी सुरुआत गरिएको संस्कृत पुस्तकालय स्याङ्जाका एघार वटै स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा स्थापना गर्ने लक्ष्य रहेको अध्यक्ष पौडेलले बताए ।

विश्व हिन्दू युवा सङ्घले विद्यार्थीमा नैतिक शिक्षाको अभाव भएको भन्दै पालिकाले विद्यालयमा नैतिक शिक्षा लागू गर्न माग गर्दै यसअघि ज्ञापनपत्र बुझाएको थियो । “संस्कृत पूजा गर्ने, कर्मकाण्ड चलाउने मात्रै भाषा होइन”, उनले भने, “यो विश्वकै सबैभन्दा प्राचीन भाषा हो, तसर्थ यसको महत्वकाबारेमा आजका पिँढीलाई बुझाउन सकेमात्रै भोलि पनि यो भाषा जीवित रहने भएकाले समयमै यतापट्टि ध्यान दिनु जरुरी भएको ठान्दछु ।”

पुस्तकालय सञ्चालनमा आएकाले सोही ठाउँमा गएर आफूलाई आवश्यक परेको पुस्तक अध्ययन गर्न वा घरमै लगेर पनि अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको पुस्तकालयले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्