काठमाडौं, असार १५ । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावित परिवारले घरगोठ, बोटबिरुवा र फलफूलको करिब पाँच अर्ब रुपैयाँ मुआब्जा पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्बास तथा पुनस्र्थापना एकाइका अनुसार हालसम्म चार अर्ब ७२ रुपैयाँ वितरण भइसकेको छ ।
दोस्रो पटक दुई हजार छ सय घर प्रभावितको बैङ्क खातामा तीन अर्ब दुई करोड रुपैयाँ पठाइएको आयोजनाका संयोजक डा जगतकुमार श्रेष्ठले जानकारी दिए । “गोरखा र धादिङ दुवै जिल्लाका प्रभावितको निवेदनका आधारमा हामीले दुई पटकमा रकम भुक्तानी गरिसकेका छौँ, अब झन्डै एक हजार जनाको निवेदन बाँकी छ । एकरडेढ हप्तामा उनीहरूको खातामा पनि रकम जान्छ,” उनले भने । यसअघि पहिलो चरणमा आठ सय व्यक्तिको खातामा एक अर्ब ७० करोड रुपैयाँ पठाइएको उनको भनाई छ ।
हालसम्म अन्य व्यक्तिले आवेदन नदिएको कार्यालयले जनाएको छ । निवेदन दिएकामध्ये कतिपयलाई मुआब्जा दिन समस्या भएको छ । कतिपय प्रभावितको घर, गोठ, फलफूल र बोटबिरुवाको विवरण अन्य व्यक्तिको नाममा दर्ता भएकाले समस्या भएको संयोजक श्रेष्ठले बताए। उनले भने “जग्गाधनी र घरधनी फरक परेको अवस्थामा मुआब्जा पठाउन सकिएको छैन । त्यस्तो केस भिडाउन बाँकी नै छ ।”
अरूको जग्गा भाडामा लिएर घर बनाई बसेका व्यक्तिलाई पनि मुआब्जा दिन समस्या भएको छ । त्यस्ता व्यक्तिको जग्गाधनीले रकम पाउने घरधनीले नपाउने अवस्था सिर्जना भएको उनले बताए ।
गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी आयोजनाका लागि सरकारले चालू आर्थिक वर्षमा छ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको थियो । उक्त रकम मुआब्जा वितरणमा खर्च भएको छ । गोरखापत्र दैनिकबाट