काठमाडौं, १६ असार । पर्सामा एक किशोरीको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । बहदुरमाई–७ बिश्रामपुरको घाटमा १४ वर्षीया महिमा कुमारीको जलाउँदै गरेको शव नियन्त्रणमा लिएको हो ।
शंकास्पद मृत्यु भएकी किशोरीको शव प्रहरी र गाउँलेलाई जानकारी नदिई परिवारम मात्रैले अन्त्येष्टिका लागि घाटमा लगेका थिए । परिवारले भने विष पिएका कारण कुमारीको मृत्यृ भएको दाबी गरेको छ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी घाटमा पुगेर शव नियन्त्रणमा लिएको हो । प्रहरीले अनुसन्धानका लागि मृतकको दिदी, आमा र ठुलीआमालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले आधा शरीर जलेको कुमारीको शव यतिबेला वीरगञ्जको नारायणी अस्पतालमा राखिएको जनाएको छ । स्थानीयहरुले भने कुमारीको स्थानीय युवासँग प्रेम सम्बन्ध रहेको र परिवारले टाढिन दबाब दिँदै आएको बताएका छन् ।