Logo

अर्थ मन्त्रालयमा राति छिरेका विचौलिया लुकाउन सीसीटीभी फुटेज गायब



काठमाडौं, १९ असार । सरकारले काठमाडौं उपत्यकाका चोकहरुमा सीसीटीभी जडान गरेको छ । मुख्य चोकहरुमा जडान गरेको सीसीटीभी फुटेज सडक दुर्घटना वा अन्य गम्भीर प्रकृतिको घटनाको अनुसन्धानमा प्रयोग हुन्छ । तर, पहुँचवालाको हितमा मात्र त्यस्ता सीसीटीभी फुटेज प्रयोग हुन्छन् ।

कोटेश्वर, बानेश्वर, थापाथलीलगायतका क्षेत्रमा सडक दुर्घटना भइहालेमा ट्राफिक प्रहरीले पहुँचवालाका लागि कहिलेकाही सीसीटीभी फुटेज नै गायब पार्ने गरेको गुनासो आउने गरेको छ । कोटेश्वरमा दुई महिना अघि एउटा मोटरसाइकल सार्वजनिक यातायातमा नियम मिचेर ओभरटेक गर्दा दुर्घटनामा परेको थियो । यातायात व्यवसायीले सीसीटीभी फुटेज हेर्न खोज्दा छैन भनेर टारियो । व्यवसायी मारमा परे । यस्ता धेरै घटनाहरु छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा १४ जेठ २०७९ को बुलुका ६ बजे देखि १५ जेठ २०७९ को विहान ६ बजेसम्मका सीसीटीभी फुटेज सूचनाको हक प्रयोग गरी माग्दा अर्थ मन्त्रालयले १३ दिनभन्दा बढी रेकर्डमा नरहने जवाफ दिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पौडेलले सीसीटीभी फुटेज उपलब्ध गराउन निवेदन दिएका थिए ।

अर्थ मन्त्री जर्नादन शर्माले मन्त्रालयमा बाहिरिया व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि प्रमाणका लागि सीसीटीभी फुटेजको मागसहित निवेदन परेको थियो । तर, मन्त्रालयले फुटेज मेटिइसकेको जवाफ दिइसकेको छ ।

पहुँचवाला र राज्यमा प्रभाव बनाएकाहरुका लागि सीसीटीभी नै मेट्ने या लुकाउने गतिविधिहरु भएका छन् । कतिपय दुर्घटना वा आपराधिक घटनामा चलखेल गर्न पनि सीसीटीभी फुटेज नै मेटाउने या लुकाउने गतिविधि भइरहेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्