Logo

माओवादी प्रचण्डको पारिवारिक पार्टी हो, उनको व्यवस्थापन नहुँदा राजनीतिले स्थायित्व ग्रहण गरेन : मुमाराम खनाल (भिडिओसहित)



काठमाडौं, २१ असार । राजनीतिक विश्लेषक मुमाराम खनालले नेपालका राजनीतिक दलहरु असफल भएको दाबी गरेका छन् । दलभित्रैबाट समाधान आए राम्रो हुने उनको भनाई छ । तर, अहिले दलभित्रैबाट समाधान आउने सम्भावना कम रहेको उनको तर्क छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उनले आजको आवश्यकत्ता भनेको स्वतन्त्र व्यक्तिहरुपनि राजनीतिमा आउनु भएको सुनाए । तर, स्वतन्त्रबाट जितेकाहरु मुलुकको नेतृत्वमा अर्थात प्रधानमन्त्री बन्न नसक्ने उनको दाबी छ । उनले स्वतन्त्र व्यक्तिहरु आएर सरकार बनाउने र देशको नेतृत्व गर्ने भन्ने कुरा कल्पना बाहिरको कुरा रहेको जिकिर गरे । खनालले वर्तमान पाँच दलीय गठबन्धन वैचारिक रुपमा सही गठबन्धन नभएको आरोप लगाए ।

उनले मुलुकलाई शेरबहादुर देउवाजस्तो नेता नै चाहिँदो रहेछ भनेर व्यंग्य कसे । उनले भने,‘यो देशलाई शेरबहादुर देउवाजस्तो व्यक्ति चाहिँदो रहेछ, जसको कुनै भीजन छैन् । ईथिक्स छैन् । जसको केही क्षमता छैन् । त्यही मान्छेलाई मात्रै सबैलाई मैले नै चलाउन सक्छुजस्तो लाग्छ । अहिले त शेरबहादुरले अरुलाई मिलाउन सक्ने हो कि अरुले शेरबहादुर देवालाई मिलाउन सक्दा रहेछन । त्यो कुरा हो ।’ उनले प्रचण्ड र देउवाको मिलन पनि स्वार्थबाट नै भएको टिप्पणी गरे ।

उनले प्रचण्डलाई नेपाली राजनीतिको अस्थिरताको सबैभन्दा केन्द्रमा भएको व्यक्तिको रुपमा चित्रण गरे । उनले भने,‘प्रचण्डको राजनीतिको व्यवस्थापन नहुँदा नेपालको राजनीतिले स्थायित्व ग्रहण नै गरेन ।’ उनले माओवादी केन्द्रलाई प्रचण्डको निजी पारिवारिक पार्टीको संज्ञा दिए । उनले भने,‘उहाँको परिवारका १३÷१४ जना पदमा छन् ।’



प्रतिक्रिया दिनुहोस्