काठमाडौं, २२ असार । अर्थमन्त्री जर्नादन शर्माको नेकपा माओवादी केन्द्रभित्र बलियो पकड छ । शान्ति, गृह, ऊर्जा हुँदै अर्थ मन्त्रालयको समेत जिम्मेवारी पाइसकेका शर्माको सांगठनिक पकडका कारण पनि माओवादी अध्यक्ष प्रचण्डले विश्वास गरेका छन् ।
रुकुमलाई चुनावी क्षेत्र बनाउँदै आएका शर्मा अहिलेसम्म प्रतिष्पर्धा गरेका चुनाव हारेका छैनन् । माओवादीभित्र स्पष्ट वक्ता समेत रहेका उनलाई प्रचण्डले महासचिवको जिम्मेवारी दिने तयारी गरेका छन् । तर, उनलाई रोक्न माओवादीभित्रैबाट चलखेल भएको छ ।
जर्नादनलाई महासचिवबाट रोक्न माओवादीको ठूलै समूह लागेको छ । उनीहरुले नै सिंहदरबारभित्र बजेटमा करको दर हेरफेरका लागि अनाधिकृत व्यक्ति मध्यराति छिरेको हल्ला फैलाएका छन् । त्यसको स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नभएको स्पष्ट पारिसकेको छ ।
करका विषयमा अहिले जे जस्ता विषय उठाइएको छ त्यसमा धेरै समूह लागेका छन् । राज्यलाई नोक्शान पुर्याउन लागेकाहरुको स्वार्थ अर्थमन्त्री शर्माले पूरा हुन नदिएपछि उनको विरुद्ध योजनावद्ध तरिकाले आक्रमण भइरहेको छ । तर, शर्मा डगमग भएका छैनन् । उनलाई राजीनामा दिनसम्म दबाब बढ्दा पछि हटेनन् ।
हल्लाका भरमा यथार्थ पुष्टि नभई आफूले राजीनामा नदिने शर्माको अडान रहेको बुझिएको छ । प्रचण्डले पनि उनलाई साथ दिएका छन् । शर्मा अडान लिएर बसेपछि प्रचण्डले पनि सन्तुष्टि जनाएको बुझिएको छ ।