काठमाडौं, २२ असार । हिमालयन रिइन्स्योरेन्सको पक्षमा गराइएको घोटालाको विषय अहिले प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि चासोमा परेको छ । २१ असारको राति प्रधानमन्त्री निवास बालुवाटारमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा हिमालयन रिइन्स्योरेन्स कम्पनीको पक्षमा गराइएको घोटालाको विषय उठेको बुझिएको छ ।
प्रचण्डले अर्थमन्त्री जर्नादन शर्माको विषयमा उठेको प्रश्नमा समेत खुलेर देउवासँग कुरा गरेको विश्वस्त स्रोतले बताएको छ । उनले शर्माले राजीनामा दिनुपर्ने कुनै गल्ती नगरेको र आफ्नो अनुकूलको निर्णय नभएपछि असन्तुष्ट गिरोह विरोधमा उत्रिएको भन्दै बचाऊ गरेका थिए । त्यस्ता गिरोहले अहिले अर्थमन्त्रीको र भोलि प्रधानमन्त्रीको समेत राजीनामा माग्नसक्ने विषय राखेका थिए प्रचण्डले ।
देउवा र प्रचण्डबीच अख्तियारमा उजुरी दर्ता भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई साढे अर्ब रुपैयाँ व्यापार सुनिश्चित गर्ने गरी बीमा समितिबाट गराइएको घोटाला काण्डबारे समेत छलफल भएको बुझिएको छ ।
अख्तियारले समेत आन्तरिक रुपमा छानविन बढाएको हिमालयन रिइन्स्योरेन्स घोटाला काण्डले तरंग नै लयाउने देखिएको छ। हिमालयन रिइन्स्योरेन्सलाई केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लाइसेन्स दिइएको थियो । ओलीको पालामा भएको लाइसेन्स वितरणको विषय अहिले देउवाको पालामा आएर वर्तमान सरकारलाई दोष दिन खोजिएको छ ।
बीमा समितिले गरेको निर्णयले निजि बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई बार्षिक साढे छ अर्ब रुपैयाँ फाइदा हुने ग्यारेन्टी गरिएको थियो ।
विभिन्न समूहले बीमा समितिबाट गराएको उक्त विवादित निर्णयबारे शीर्ष नेताहरुको तहमै छलफल भएको छ । अब बहुचर्चित हिमालयन रिइन्स्योरेन्स घोटाला काण्ड छिट्टै सच्चिने निश्चित भएको छ । अर्थ मन्त्रालयमाथि यसलाई सच्याउने गरी दबाब परिसकेको छ ।