Logo

वालिङका कृषकद्धारा गाँउमै हाते ट्याक्टर मर्मत



प्रकाश डोटेल : स्याङ्जा, २२ असार । स्थानीय पालिकाले मात्रै नभएर सहयोग स्वरुप धेरै निकायले प्रबिधि हस्तान्तरणका नाममा कृषकहरुलाई हाते ट्याक्टर वितरण गर्दै आएका छन् । गाडी रिर्जभ नै गरेर गाँउगाँउ पु¥याईएका हाते ट्याक्टरहरुमा सानो समस्या देखिनासाथ फेरी गाडी रिजर्भ नै गरेर बजार पु¥याउनु पर्ने बाध्यता थियो । तर अब भने यो समस्याबाट स्याङ्जाका कृषकहरुले पार पाउने भएका छन् ।

वालिङ नगरपालिकाका कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान गरेको छ । जसले गर्दा कृषकहरुले गाँउमै हाते ट्याक्टरको मर्मत गर्न सक्ने भएका हुन् । पछिल्लो ५ वर्षभित्र मात्रै बिभिन्न निकायले बितरण गरेका ८० हजार भन्दा बढी हाते ट्याक्टर रहेका छन् । गाँउमै मर्मत हुन सके उत्पादनमा लागत कम र कृषकलाई सहज हुने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताए ।

वालिङ नगरपालिकाले युएनडिपीको सहयोग र दियालो तथा व्यावसायिक र सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा ट्याक्टर मर्मतको बिशेष तालिम प्रदान गरेको छ । यसअघि वालिङले ५० जना कृषकलाई प्रारम्भिक हाते ट्याक्टर मर्मत तालिम प्रदान गरेकोे नगरपालिकाले जनाएको छ ।

कृषकहरुको मागको आधारमा तालिम सञ्चालन गरिएको नगरउपप्रमुख कविता तिवारीले बताईन् । अब गाँउमै हाते ट्याक्टरको मर्मत गर्न सक्ने सक्षम जनशक्ति तयार भएको उनले बताईन् । “गाँउगाँउमा हाते ट्याक्टरमा सामान्य समस्याले समेत फालिएका छन् ।” तिवारीले भनिन्, “जसको कारण कृषकलाई मार परेको छ, समस्याको अन्त्यका लागि बाहिरबाट दक्ष प्राविधिक बोलाएर तालिम सञ्चालन गरेका हौं ।”

सबैको ध्यान ट्याक्टर वितरणमा मात्रै गयो मर्मत गर्न सक्ने जनशक्ति तयार गर्ने ध्यान भएन्, त्यसैले हामीले वितरणसँगै मर्मत गर्न सक्ने जनशक्ति तयार पार्नका लागि तालिम प्रदान गरेको नगरका प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले बताए । नगरका १४ वटै वडाबाट छानिएर आएका १५ जना व्यावसायिक कृषकलाई एड्भान्स तालिम प्रदान गरिएको हो ।

“अनुदानमा पाएका मेरो घरमा दुई वटा खेत जोत्ने ट्याक्टर सामान्य समस्याले फालिएका छन् ।” तालिममा सहभागि भएपछि उत्साहित भएका वालिङ २ का कृषक नीर बहादुर सार्कीले भने, “फालिएका ट्याक्टरको अब आफै बनाएर प्रयोग गर्न सक्ने बनाउँछु ।” सार्की मात्रै होईन तालिममा सहभागि १५ युवाले आफै ट्याक्टर बनाउन सक्ने भएको बताए ।

तालिममा प्राप्त ज्ञानले स्वरोजगार बनाउन समेत मद्दत पुग्ने सहभागिले विश्वास जनाएका छन् । घरमै भएको ट्याक्टर सहित गाउँमा बिग्रेका ट्याक्टर बनाएपछि आम्दानीको राम्रो श्रोत पनि हुने उनीहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्