काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मा यतिवेला विवादमा तानिएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा यतिवेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्री शर्माको राजीनामा मागेको छ । सभामुखले ६ सदस्यीय छानबिन समिति पनि गठन गर्दैछन् । तर, अर्थमन्त्री शर्माले भने आफूले कुनै गल्ती नगरेको भन्दै राजीनामा नदिने अडान लिएका छन् ।
आज विहान बसेको पार्टीको बैठकमा समेत उनले आफूले देश र जनताको हित हुनेगरि बजेट ल्याएकोले कुनैपनि हालतमा पदबाट राजीनामा नदिने बताएका थिए । अध्यक्ष पुष्पकमल दाहालले उक्त विषय पार्टी नेतृत्वसँग जोडेर उठाउन थालिएकोले छानबिन समिति गठन गरेर जानुपर्ने र त्यो समितिलाई सहयोग गर्न शर्मालाई आग्रह गरेका छन् । माओवादी केन्द्रले भने शर्माको राजीनामा मागेको छैन् । उता, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अर्थमन्त्री शर्माको राजीनामा मागेका छैनन् ।
सत्तापक्षका सांसदहरुले छानबिन समिति गठनसम्मको माग गरेका छन् । तर, एमालेले भने कुनैपनि हालतमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने अडान लिएको छ । अर्थमन्त्री शर्माको विगत त्यति विवादित थिएन । तर, उनी अर्थ मन्त्रालयको नेतृत्वमा आएसँगै विचौलियाको प्रभावमा परेको आरोप छ । उनलाई सबैभन्दा धेरै दिपक भट्टले चलाएको र एकपछि अर्को गरेर विवादमा मुछ्ने काम गरेको चर्चा भैरहेको छ। भट्ट लगानी बोर्डका सिईओ सुशिल भट्टका भाई हुन् ।
नेकपाकालमै भट्ट दाजुभाईको विषयले पार्टीभित्र विवाद उत्पन्न भएको थियो । दीपक भट्ट नेपालको उर्जा माफियाको रुपमा परिचित छन् । उनी शक्ति केन्द्रलाई रिझाएर काम लिन खप्पिस छन् । अहिले अर्थमन्त्री शर्मालाई प्रभावमा पार्ने काममा पनि उनी संलग्न रहेको चर्चा हुन थालेको छ। तर, यतिवेला शर्मा विवादमा मुछिएको र उनको राजीनामा मागिएको अवस्थामा भने उनी लुकेर बसेका छन् ।