Logo

कांग्रेस सहमहामन्त्री यादवको दाबी : निर्दोष सावित भए जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुपर्छ (भिडिओसहित)



काठमाडौं, २३ असार । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अर्थमन्त्री जनार्दन शर्माबाट गल्ती भएको हो कि होईन भन्ने कुरा संसदीय छानबिन समितिको प्रतिवेदन आएपछि थाहा हुने बताएका छन् । यो प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको संलग्नता रहेको भन्नु गलत हुने उनको टिप्पणी छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यो विवादको प्रकरणमा प्रधानमन्त्री देउवाको कुनै संलग्नता नभएको उनको जिकिर छ ।

उनले विगतमा एमालेबाट अर्थमन्त्री बनेका भरतमोहन अधिकारी र विष्णु पौडेलमाथि करको दर चुहावट गरेको आरोप लागेको भएपनि उनीहरुले नैतिकता नदेखाएको र राजीनामा नदिएको स्मरण गराए ।

तर, कांग्रेसका अर्थमन्त्री डा. रामशरण महतमाथि दोष लाग्दा राजीनामा दिएको र निर्दोष सावित भएपछि पूनः अर्थमन्त्री बनेको उनको भनाई छ । यादवले अहिले जनार्दन शर्मामाथि संसदीय समितिले छानबिन थालेको भन्दै समितिले निर्दोष सावित गरे उनलाई अर्थमन्त्री बनाउनुपर्ने पनि बताए ।

उनले भने,‘यदि उहाँ निर्दोष सावित हुनुभयो भने अर्थमन्त्री बनेर आउनुपर्छ ।’ उनले माओवादी केन्द्रले पनि तत्काल अर्थमन्त्रीको लागि नयाँ नाम नदिने विश्वास दिलाए । उनले छानबिन समितिको प्रतिवेदन आउञ्जेलसम्म अर्थ मन्त्रालयको नेतृत्व प्रधानमन्त्री देउवाले नै सम्हाल्ने स्पष्ट पारे ।

उनले माओवादी केन्द्रले गृह मन्त्रालयमा दाबी नगर्ने विश्वास दिलाए । यदि माओवादी केन्द्रले दाबी गरे पनि आफूहरुले उक्त मन्त्रालय माओवादीलाई नदिने उनले जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्