Logo

एमाले को हो र ? भन्ने जनार्दनको प्रश्नमाथि राष्ट्रियसभामा चर्चा



असार २३, काठमाण्डौ । राष्ट्रियसभाको बैठकमा नेकपा एमालेका सांसदहरुले राजीनामा दिइसकेका जनार्दन शर्माको आलोचना गर्न छोडेका छैनन् । सभामा बोल्दै एमाले सांसद खिमलाल भट्टराईले विपक्षी देखिनै नसक्ने र देख्नै नचाहने जस्तो गरिएको गुनासो गरे ।

दुवै सदनमा सबैभन्दा ठूलो दल एमाले नै भएको स्मरण गराउँदै उनले एमालेलाई होच्याएको आरोप लगाए । निवर्तमान अर्थमन्त्री शर्माले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै एमाले को हो र ? भनेर प्रश्न गरेका थिए । बजेट निर्माणका क्रममा भएको अनियमितताबारे छानबिनका लागि एमालेले सिसिटिभी फुटेज देखाउन माग गरेको सन्दर्भमा जवाफ दिँदा शर्माले एमाले को हो र सिसिटिभी फुटेज देखाउने भनेका थिए ।
सोही सन्दर्भ स्मरण गर्दै भट्टराईले प्रतिपक्षीलाई होच्याएको गुनासो गरेका हुन् । भट्टराईले राष्ट्रियसभामा सम्बोधन गर्दै भने–“असाध्यै होच्याउने गरी कहाँ छ ? प्रतिपक्ष कहाँ छ ? प्रतिपक्षलाई किन सोध्नुपर्यो ? प्रतिपक्षीले भनेको किन मान्नुपर्यो ? सूचनाको हकको विषयमा पनि यस्तो कुरा आयो यस्तो खालको दम्भ र घमण्ड प्रस्तुत भयो ।”

भट्टराईले अहिलेको सरकार सबै हिसाबले असफल भएको आरोप पनि लगाए । “यो सरकार सम्पूर्ण रुपमा असफल भइरहेको छ । प्रतिपक्षीको हिसाबले मैले भनिरहेको छैन । सूचकहरुलाई हेर्नुभयो भने, हरेक क्षेत्रलाई हेरौँ, कुनै गौरव गर्न लायक छ ?” उनले भने ।

विशेषगरी आर्थिक क्षेत्र तहसनहस भएको उनले बताए । नेपालको अर्थतन्त्र महासंकटतर्फ गइरहेको र श्रीलंकाको हालतमा पुग्न सक्ने उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्