काठमाडौं, २४ असार । कूटनीतिज्ञ दीपकुमार उपाध्यायले राजनीतिक दलहरु नसच्चिए व्यवस्थामाथि नै विष्फोट हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यायले भने, “अहिले यो वा त्यो पार्टी, यो वा त्यो नेता भन्ने अवस्था छैन । जहाँ नैतिकता, चरित्र हुँदैन, त्यहाँ व्यक्ति र व्यवस्थामात्र होइन, दल र देश नै दण्डित हुन्छ ।”
अर्थमन्त्री जनार्दन शर्मा प्रकरणको जिम्मेवारी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लिनुपर्ने उनले औंल्याए । उपाध्यायले भने, “यसको सीधा आरोप प्रचण्ड र प्रधानमन्त्रीमाथि पनि आउँछ । नेतृत्वको सहमति बेगर त्यस्तो काम हुन सक्यो होला ? अनैतिकता र राष्ट्रघातले नेता र दलको होइन, राष्ट्रकै विश्वसनीयतामाथि आँच पुग्छ ।”
तपाईंले कांग्रेस छाड्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा उपाध्यायले अहिले कांग्रेसको समस्या कांग्रेस नै भएको टिप्पणी पनि गरे । उनले भने, “म कांग्रेसमै छु । तर कांग्रेसका लागि कांग्रेस नै भार भयो । कांग्रेसको समस्या कांग्रेस नै भयो । पार्टीको मतलब छैन, व्यक्तिको मतलब भयो । कांग्रेसमा टिकट नै खुलेआम बिक्री भयो । आफ्नो गुटको भएन भने कांग्रेस नै मानेनन् । अहिले कांग्रेस मात्र नभएर सबै दलका नेतृत्वप्रति जनतामा नैराश्य छाएको छ ।”