Logo

सिन्जो अबेः जो अस्वस्थ भएको खुलाएर प्रधानमन्त्रीबाट बिदा भएका थिए



एजेन्सी, २४ असार । दुनियाँमा धेरै नेताहरु यस्ता छन् जो आफ्नो अस्वस्थता लुकाउँछन् । जर्बजस्ती स्वस्थ भएको देखाएर पदमै रहिरहन खोज्छन् । उनीहरु अस्वस्थ भइकन सत्ता छाड्न चाहँदैनन् ।

सिन्जो अबे जापानका त्यस्ता प्रधानमन्त्री थिए जसले अस्वस्थ भएको खुलाएरै पदबाट राजीनामा दिए । २८ अगष्ट सन् २०२० मा अबेले प्रधानमन्त्रीबाट राजीनामा दिंदा जापानको इतिहासमा दोस्रो विश्वयुद्धपछि लामो समय शासन गर्ने प्रधानमन्त्री बनिसकेका थिए ।

अबेलाई युल्किरेटिभ कोलिटिस नामको रोग लागेको थियो । यसले मुखमा असर गर्दै पेटमा पनि समस्या ल्याउने गर्छ । अबे विभिन्न अस्पताल पुगे । यसले दीर्घकालीन समस्या ल्याउने देखेपछि पदबाट राजीनामा दिए । स्वास्थ्यका कारण अबेले राजीनामा दिंदा आफूले विगतमा गरेका प्रतिवद्धता र बनाएका कतिपय योजनाहरु कार्यान्वयन गर्न नसकेकोमा दुःख लागेको समेत बताए । खुलेरै कमी कमजोरी बताए अबेले ।

जापानमा दोस्रो विश्वयुद्धपछि कम उमेरमा प्रधानमन्त्री बनेका थिए । सन् २००६ मा प्रधानमन्त्री बन्दा अबे ५२ वर्षका थिए । उनले सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने कीर्तिमान समेत बनाए ।

टोकियोको प्रतिष्ठित परिवारमा जन्मिएका उनले जापानलाई आर्थिक संकटबाट पार लगाउन सके । त्यसकारण उनको भूमिकालाई जापानीले निकै कदर गर्ने गरेका छन् ।

अबेको ८ जुलाई सन् २०२२ मा एउटा सार्वजनिक कार्यक्रममा भाषण दिइरहँदा हत्या भयो । गोली लागेपछि अबेलाई अस्पताल लगिएपनि बचाउन नसकिएको बताइयो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्