Logo

ठप्प हुँदै खानेतेल निकासी



वीरगञ्ज, असार २६ । भारतले आफ्नो आन्तरिक बजारमा खानेतेलको मूल्यवृद्धि रोक्न अपनाएको नीतिको प्रतिकूल असर नेपालबाट हुने निर्यातमा परेको छ । भारतले खानेतेलको कच्चा पदार्थको आयात गर्दा तिर्नुपर्ने शुल्क भारी मात्रामा कटौती गरेपछि नेपालबाट प्रशोधित तेलको निर्यात स्वाट्टै घटेको छ । यही अवस्था रहिरहे खानेतेल निकासी पूरै बन्द हुने उद्यमीहरू बताउँछन् ।

भारतले उसको चालू आर्थिक वर्ष (आव) २०२२/२३ र आगामी आव २०२३/२४ का लागि २०/२० लाख मेट्रिक टन भटमास र सूर्यमुखीको अर्धप्रशोधित तेलमा आयात र कृषि पूर्वाधार विकास कर हटाएको छ । यस आधारमा भारतमा सन् २०२४ को मार्चसम्ममा ८० लाख टन अर्धप्रशोधित तेल शून्य शुल्कमा भित्रिनेछ ।

त्योभन्दा बढी परिमाणमा आयात भएको खण्डमा २ दशमलव ५ प्रतिशत शुल्क तिरे पुग्छ । एक समय भारतले आफ्ना किसान र उत्पादकको संरक्षणका लागि भन्दै यस्तो शुल्क ४० प्रतिशतसम्म पुर्‍याएको थियो । त्यसबेला नेपालका तेल उत्पादकले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गतका मुलुकमा निकासी गर्दा भन्सार सहुलियत पाइने कारण खानेतेल भारत निकासी गरेका थिए । यो अवसर उपयोग गर्न नेपालका थुप्रै उद्योगले क्षमता विस्तार पनि गरेका थिए । अब भारतमा आयात शुल्क घटेपछि नेपालका उद्योगको लगानी नै जोखिममा परेको उद्योगी सुरेश रूंगटा बताउँछन् ।

भारतीय नीतिको प्रभाव तेल निकासीमा देखिइसकेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । तेल निकासी हुने मुख्य नाका वीरगञ्जबाट चालू आव २०७८/७९ को वैशाख र जेठ दुवै महीनामा प्रशोधित तेल निर्यात घटेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

भारतले गत मेमा भटमास र सूर्यमुखीको अर्धप्रशोधित तेलमा आयात शुल्क र कृषि पूर्वाधार विकास कर शून्यमा झारेको हो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्