Logo

कांग्रेसले माओवादीको पहल कदमीमै प्रधानमन्त्री पाएको हेक्का राखोस्ः देवकोटा



काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र)का नेता खिमलाल देवकोटाले नेपाली कांग्रेसका नेताहरूमा एक्लै सरकारमा पुगेजस्तो घमण्ड पलाएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता देवकोटाले भने, “नेपाली कांग्रेस एकल ताकतमा प्रधानमन्त्री बनेको होइन । माओवादीको पहल कदमीमा बनेको हो । तर उसमा एक्लै सरकारमा पुगेजस्तो घमन्ड पलाएको छ । अरु दललाई अगाडि आउन नदिने मिसन राखेको छ । अब हामीले एक्लै पुगेको होइन भन्ने हेक्का दिलाउनैपर्छ ।”
तर उनले आगामी संघ र प्रदेशको चुनावसम्म गठबन्धन जारी रहने पनि बताए । देवकोटाले थपे, “चुनाव आफ्नै भरमा लड्ने हो । आफ्नै रणनीतिका साथ जित्ने हो । तर अहिलेको गठबन्धन प्रतिगमनको खतरालाई टार्नका लागि बनेको हो । संघ र प्रदेशसम्म निरन्तर रहन्छ ।”
आफ्नो पार्टीभित्र अन्तर्घातको रोग सल्केको पनि उनले बताए । थपे, “संसदीय निर्वाचनको जसरी पनि जित्नुपर्ने र एकले अर्कालाई निषेध गर्ने सबैजसो पार्टीको रोग माओवादीभित्र पनि छ । त्यसकारण पार्टीले छानबिन समिति बनाएको छ । तर अहिले अन्तर्घात भएको निष्कर्ष निकाल्नु हतारो हुन्छ । प्रश्न उठेपछि समाधान गर्नुपर्छ ।”
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख कम्युनिस्टहरुलाई मिलाउन नआएको जिकिर पनि उनले गरे । देवकोटाले भने, “कुनै पनि विदेशी देशका प्रतिनिधि आफ्नै मिसनमा आएका हुन्छन् । कसैलाई दखल अन्दाजी गर्न आउँदैनन् । कम्युनिस्टहरुलाई मिलाउन आएको भन्ने कुरा त नेपालभित्र पकाइएको खिचडी मात्र हो । कसैले चाहेर जुट्ने वा फुट्ने भन्ने हुँदैन । पहिले त कम्युनिस्टहरुकै चाहना हुनुपर्‍यो।”



प्रतिक्रिया दिनुहोस्