Logo

आगामी प्रधानमन्त्री को बन्ने भन्ने छलफल र निष्कर्ष गर्ने बेला भएको छैन : प्रदीप पौडेल



काठमाडौं, २६ असार । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी महामन्त्री गगनकुमार थापा प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “आगामी प्रधानमन्त्री को बन्ने भन्ने छलफल र निष्कर्ष गर्ने बेला भएको छैन । त्यो चरणमा पुग्न धेरै चरणका काम बाँकी छन् । पार्टीभित्र एउटै मान्छे वा उम्मेदवार मात्र छैन । धेरै योग्य मानिस हुनुहुन्छ ।”

गगन थापालाई प्रधानमन्त्री घोषणा गरेर अघि बढ्न तपाईं तयार हुनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “पहिले गर्नुपर्ने महत्त्वपूर्ण काम नगरेर पछि गर्ने कुरामा विवाद गरेर केही उपलब्धि हासिल हुँदैन । अहिले त पार्टीको आन्तरिक रणनीति बनाउने, गठबन्धन गर्ने वा नगर्ने, कुन क्षेत्रमा कसलाई उठाउने आदि छलफल उचित हुन्छ । भोलि गगनजी नै प्रधानमन्त्रीको उम्मेदवार हुन सक्नुहुन्छ । तर अहिले त्यसमा विवाद गरेर केही फाइदा हुन्न ।”

अहिले पार्टी गठबन्धन साथ जाने वा एक्लै जाने दुवै सम्भावना जीवित भएको पनि पौडेलले औंल्याए । उनले थपे, “स्थानीय तहमा ४३ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको हो । आउँदो निर्वाचनमा गर्दा सबै ठाउँमा गर्ने हो, नगर्दा कहीँ पनि नगर्ने हो । अलिकता अप्ठ्यारो स्थिति छ । गठबन्धन गर्दा कांग्रेसको पक्षमा माहोल आउने स्थिति बन्छ कि बन्दैन ? गणितीय गठबन्धन केका लागि ? देश र जनतालाई त्यसले के दिन्छ ? कांग्रेसबाहेक अरुको गठबन्धन रोक्न सकिन्छ कि सकिँदैन । सबै विषयमा पार्टीको आन्तरिक बैठकमा खुला छलफल हुन्छ । हामी गणितका आधारमा होइन, मुद्दाका आधारमा लड्न चाहन्छौं ।”

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई असफल भन्ने स्थिति नरहेको पनि कांग्रेस नेता पौडेलले जिकिर गरे । उनले भने, “म देउवाले जे गर्नुभयो, ठीक गर्नुभयो भन्दिनँ । पार्टीलाई जीवन दिने कुरामा पनि मेरो मतभेद छैन । तर अहिले गर्नुपर्ने काम अर्को चुनावपछि गर्छु भन्ने कुरा स्वीकार्न सकिँदैन । संस्थापन इतरका साथीहरुले दुवै मोर्चामा असफल भयो, अब नेतृत्व परिवर्तन गरौं भनेर घोषण गरेर जाने स्थिति पनि छैन । अलि व्यवस्थित ढंगले जानुपर्यो । सबैलाई समेट्नुपर्यो भन्ने हो साथीहरुको भनाइ हो । त्यसलाई छताछुल्ल रूपमा बाहिर लानुभन्दा एकताबद्ध किसिमले लानुपर्छ भन्नु पनि अर्घेल्याइँ होइन ।”

स्थानीय तह निर्वाचनको लोकप्रिय मतमा एमालेभन्दा कांग्रेस नै अगाडि रहेको जिकिर पनि उनले गरे । पौडेलले थपे, “नेपाली कांग्रेसले सबै तहमा प्रमुख, उपप्रमुख, वडाध्ययक्ष उठाएको थिएन । तर सबै पदमा कांग्रेस पहिलो छ । लोकप्रिय मतमा पनि एमालेभन्दा १ लाख ७६ हजार मतले अगाडि छ । आन्तरिक मतभेद कम गर्न सकेको भए टिकट वितरणमा कमीकमजोरी नसच्चाउने हो भने कांग्रेसले अझै राम्रो गर्न सक्छ ।” file photo



प्रतिक्रिया दिनुहोस्