काठमाडौं, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा स्थानीय निर्वाचनको समीक्षा भैरहेको छ । यस्तै, आजको बैठकले आगामी संसदीय निर्वाचनको बारेमा पनि रणनीति बनाउने बताइएको छ । बैठक सुरु हुनुअघि पार्टी कार्यालय एकछिन तनावग्रस्त बनेको थियो । सभापति शेरबहादुर देउवाको प्रवेश हुनासाथ शेखर कोइराला समर्थित युवाहरुले नाराबाजी गरेका थिए । उनीहरुले पार्टीमा एकाधिकार मान्दैनौं भन्ने चर्को नारा लगाएका थिए ।
बैठकमा नेता शेखर कोइरालाले भने लिखित सम्बोधन गरेका थिए । उनले पार्टी सही तवरले चल्न नसकेको भन्दै सभापति देउवाको आलोचना गरेका थिए । उनले आगामी निर्वाचनको सन्दर्भमा भने गठबन्धन गरेर जाँदाभन्दापनि एक्लै जाँदा पार्टीलाई फाईदा हुने धारणा राखेका छन् ।
उनले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन नगरेको भए अहिलेको भन्दा झनै राम्रो परिणाम ल्याउनसकिने थियो भन्ने धारणा राखेका थिए । उनले गठबन्धन गर्दा आम कांग्रेसका कार्यकर्ता उत्साही नरहेको टिप्पणी गरेका छन् ।
उनको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘अहिले गठबन्धनलाई निरन्रता दिनु भनेको मुर्खता हो । हामी एक्लै निर्वाचनमा जानुपर्छ ।’ उनले वर्तमान सरकारले राम्रो काम गर्न नसकेको भनेर आलोचना पनि गरे । उनले सरकारले जनताको सरोकारवालाको विषयमा ठीक ढंगले सम्बोधन गर्न नसकेको धारणा राखेका थिए ।
कोइरालाको भनाई उद्धृत गर्दै फेरि ती नेताले भने,‘यो सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन् । आज जनतामा हा्रम्रो पार्टीको नेतृत्वको सरकार अलोकप्रिय भयो । सरकारका निर्णय विवादमा परेका छन् ।’ उनले सभापति देउवाले पार्टीभित्रै काखा र पाखाको व्यवहार देखाएको भन्दै आक्रोश पोखे । उनले सभापति देउवाले एकताको सन्देश दिन नसकेको पनि आलोचना गरे । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम