Logo

देउवामाथि ठूलै संकटको संकेत



काठमाडौं, २८ असार । प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिषमा बढी विश्वास गर्छन् । उनलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भनेको चर्चा चल्ने गरेको छ । ५ पटक भइसकेका छन् । तर, देउवालाई भाग्यले प्रधानमन्त्री त बनाउँछ देश चलाउँदा दुर्भाग्यशाली घटनाहरु घट्छन् । उनको प्रधानमन्त्रीबाट हट्दाको ४ पटक सुखद रहेन ।

देउवामाथि कुनैबेला प्रधानमन्त्री हुँदा सशस्त्र माओवादीको बीजारोपण गरेको आरोप लाग्यो । उनी पहिलोपटक प्रधानमन्त्री हुँदा नै माओवादी जनयुद्ध सुरु भएको थियो । त्यसपछि प्रजातन्त्र नै राजालाई बुझाएको आरोप लाग्यो । संसद विघटन गरी चुनावको घोषणा गरेका देउवाले समयमा चुनाव गर्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले हटाएका थिए । फेरि प्रधानमन्त्री भई राजाले न्याय दिए भने तर देउवालाई हटाएर प्रत्यक्ष शासन गरे ।

चौंथोपटक प्रधानमन्त्री बन्दा देउवाले गराएको चुनावमा नेपाली काँग्रेस नराम्रो झड्का खान पुग्यो । देउवा अलोकप्रीय भए । अहिले भाग्यले देउवालाई प्रधानमन्त्री त बनाएको छ तर देश संकटमा फस्दै गएको छ ।

अहिले देश श्रीलंकाको बाटोमा जान लागेको विश्लेषण हुन थालेको छ । महङ्गी चुलिएको छ । बेथितीहरु बढेका छन् । जनतामा आक्रोश बढ्दै गएको छ । राजनीतिक दलहरुप्रति नै वितृष्णा हुने घटना विकास भएको छ ।

देउवा चुनावको तयारीमा छन् । तर, आफ्नै दल नेपाली काँग्रेसभित्र उनी घेराबन्दीमा पर्दै गएका छन् । डा. शेखर कोइराला पक्षधरले विद्रोहको चेतावनी दिइसकेको छ । यो शुभ संकेत होइन ।

देउवा सत्ता गठबन्धनभित्र असजिलोमा पर्न थालेका छन् । प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई मनाउनुपर्ने वाध्यता छ । उनीहरुले पनि कुनैपनि बेला देउवालाई धक्का दिने निर्णय लिन सक्छन् । देउवा चौंथोपटक प्रधानमन्त्री हुँदा २०७४ ताका प्रचण्डले अन्तिममा साथ छाडिदिएका थिए । अहिले कम्युनिस्ट एकताको पहल चलिरहँदा देउवामाथि अर्को चुनौती बढेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा देउवाले छिमेकीलाई चिढ्याएको विषय उठ्न थालेको छ । विशेषगरी चीन देउवाप्रति सकारात्मक छैन । भारतीय पक्षले पनि देउवालाई खासै महत्व दिएको देखिदैन । देउवाको कार्यकालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपनि काठमाडौं आएनन् । उनको भ्रमण नितान्त धार्मिक देखियो । भारतबाट उच्च अधिकारीहरुको भ्रमण खासै भएको छैन ।

देउवाको कार्यकालमा अमेरिकाबाट भने आवतजावत बाक्लो छ । अमेरिकी अधिकारीहरु नेपाल नआएको कुनै महिना छैन भन्दा पनि हुन्छ । देउवाले पश्चिमाहरुबाट बढी भरोसा राखेको देखिन्छ । यसले छिमेकलाई चिढ्याउन सक्छ । यसको असर काँग्रेस भित्र र बाहिरको राजनीतिमा देखिन थालिसकेको छ ।

देउवा अहिले चौतर्फी घेराबन्दीमा छन् । प्रचण्ड र माधव नेपाल हुन् या उपेन्द्र यादव नै किन नहुन् देउवालाई समर्थन दिनुमा उनीहरुको वाध्यता छ । कुनैपनि बेला साथ छाड्न पनि सक्छन् । तर, देउवालाई सबैभन्दा चुनौती आफ्नै दल नेपाली काँग्रेसभित्रबाट बढेको छ । चुनाव नजिकिदै गर्दा काँग्रेसभित्र विद्रोहको कुरा चल्न थालेको छ । देउवाका लागि यो सुखद भने होइन ।-File Photo



प्रतिक्रिया दिनुहोस्