Logo

सभामुख र उपाध्यक्ष रिक्त भएकोमा बामदेव गौतमको असन्तुष्टी, दलहरुलाई यसरी पढाए संविधान



असार २८, काठमाण्डौ । राष्ट्रियसभाका सदस्य बामदेव गौतमले प्रतिनिधिसभाको उपसभामुख पद रिक्त हुनु संविधानविपरित भएको बताएका छन् । विशेष समयमा बोल्दै गौतमले राष्ट्रियसभामा उपाध्यक्ष नभएको चार वर्ष बितिसकेको उल्लेख गर्दै दुवै पदमा महिला भए पनि फरक नपर्ने तर एक जना महिला अनिवार्य हुनुपर्ने संविधानको व्यवस्था कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रतिनिधिसभामा पनि चार वर्षदेखि उपसभामुख नहुनु लाजमर्दो भएको गौतमले बताए । संविधानमा पुरुष अनिवार्य भनेको भए दलहरुले तत्कालै पूर्ति गर्ने तर महिलाको पद खाली भएकाले बेवास्ता गरेको गौतमको आरोप छ ।

संविधानको व्याख्या गर्दै गौतमले भने–“संविधानाको धारा ९२ मा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष भनिएको छ । त्यसमा प्रतिनिधिसभाकोमा पनि राष्ट्रियसभामा पनि उपाध्यक्षबिनाको अध्यक्षको परिकल्पना गरिएको छैन । यसको अक्षर भावनामा जाने हो भने उपाध्यक्ष हर ठाउँमा, अध्यक्षसँगसँगै उपाध्यक्ष । र त्यसमध्ये एक अनिवार्य रुपमा महिला हुनुपर्ने छ । यसको अर्थ के पनि हुन्छ भने बरु पुरुष र महिलाध्ये पुरुष नभए पनि हुन्छ, महिला अनिवार्य हुनुपर्छ । किन भने महिला अनिवार्य भनेर लेखेको छ ।”

उनले राष्ट्रियसभाका तीन वटा समितिमा पनि सभापति पद खाली रहेकोतर्फ ध्यानाकर्षण गराए । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्षसमेत रहेका गौतमले आफू संविधान निर्माणकर्तासमेत भएकाले संविधानमा लेखिएका कुराको राम्रो जानकार भएको बताए ।

त्यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिएको शुन्य समयमा बोल्दै अनिता देवकोटाले सिंहदरबारको अधिकार नागरिकको घरदैलोमा पुगेको भए पनि काम प्रभावकारी हुन नसकेको बताइन् । संविधानअनुसार तहले काम नगरेको उनको भनाई छ ।

इन्दु कडरियाले महाकाली नदीको तुइन भारतीय प्रहरीले काटिदिएर नदीमा खसेका जयसिंघ धामी नभेटिएको उल्लेख गर्दै दार्चुलाका नदीहरुमा भएका तुइन असुरक्षित भएको बताइन् । ११ ठाउँमा पुल निर्माण गर्नुपर्नेमा ७ ठाउँमा पुन निर्माण कार्यको सुरु नै नभएको बताइन् ।

अर्का सदस्य खिमलाल देवकोटाले सरकारले कसले चलाएको छ भन्ने थाहा नभएको बताए । ललितपुरको भैँसेपाटीमा ५ सय मिटर सडक बनाउन धेरै ठाउँमा ताकेता गर्दा पनि बेवास्ता गरिएको गुनासो गरे ।

दिलकुमारी रावलले सरकार छ कि छैन भन्ने थाहा नभएको बताइन् । त्रिभुवन विश्वविद्यालयले लिएको स्नातक र स्नातकोत्तर तहको परीक्षाका लागि बनाइएको प्रश्नपत्रमा त्रुटी भएको औँल्याइन् । उनले कतिपय विषयको प्रश्न अंग्रेजीमा मात्रै सोधिएकोमा असन्तुष्टी व्यक्त गर्दै प्रश्न नेपालीमा पनि हुनुपर्ने बताइन् ।

नन्दा चापागाईंले लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई मलजलका साथ हुर्काउनुपर्ने अवस्थामा प्रदेश सरकारहरुले बजेट विनियोजनमा लापरबाही गरेको बताइन् । विभिन्न कोषमा रकम जम्मा गर्ने प्रवृत्तिलाई निस्तेज गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाश पन्थले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घा ओझेलमा परेको भन्दै त्यस ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराए ।

सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोकको कोदारी राजमार्गअन्तरगतको साँधीखोलामाथि निर्माणाधिन पुल अलपत्र परेकोतर्फ ध्यानाकर्षण गराए । उनले इन्द्रावती नदीमा निर्माणाधिन तटबन्ध पनि समयमा नबनाइएको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्