Logo

‘माटो जोगाऔँ’ अभियानकर्मीका टोली खोटाङमा



काठमाडौँ,२८ असार । ‘माटो जोगाऔँ’ अभियान लिएर देशदौडाहमा निस्केका पर्वतका यमबहादुर चोचाङ्खी पुन मगर (नवीन पुन)को यात्रा खोटाङ आइपुगेको छ । मानवीय क्रियाकलापकै कारण बिग्रँदै गएको माटोको अवस्थालाई जोगाउन नागरिकलाई सचेत गराउने लक्ष्यकासाथ देश ७७ जिल्ला पुग्ने गरी तीन हजार ५०० किलोमिटर दौड सुरु गरेका पुन सोमबार दिक्तेल आइपुगेके हो ।

नागरिकलाई माटोको बिग्रदो अवस्थाका बारेमा जानकारी दिएर समस्या हल गर्दै माटो जोगाउने विश्वव्यापी अभियानमा लाग्न उत्प्रेरित गर्न ‘माटो जोगाऔँ’ अभियान थालिएको अभियानका नेतृत्वकर्ता पुनले जानकारी दिए । “अहिले माटोमा जैविक मात्रा घट्दै गएको छ । यही कारण उत्पादकत्व घट्नुका साथै स्वस्थकर खानेकुराको उत्पादन पनि घट्दै गएको छ । यही रफ्तारमा जैविक मात्रा घट्दै गएको खण्डमा केही वर्षपछि खानका लागि मानिस–मानिसबीच युद्ध हुनेछ”, उनले भने, “माटोमा रासायनिक मलको बढ्दो प्रयोगलाई घटाउनुपर्छ । यसका लागि सरकारले सुरु गरेको प्राङ्गारिक मल प्रयोगको नीतिलाई कार्यान्वयनमा ल्याउन सबैले दबाब दिनुपर्छ ।”

छिमेकी जिल्ला भोजपुरको सिमाना चखेवाभञ्ज्याङबाट सुरु भएको पुनको खोटाङ यात्रा आज ओखलढुङ्गाको सिमाना जयरामघाट पुगेर टुङ्गिने जनाइएको छ । गत वैशाख ३० गते काठाडौँबाट सुरु भएको उनको यात्रा तराई हुँदै पूर्वी सिमाना पुगेर माथिल्लो पहाडी क्षेत्रका जिल्ला हुँदै खोटाङ आइपुगेको हो ।

माटो जोगाउन दौडेर देशभर यात्रा गरिरहेका पुनलाई ‘माटो जोगाऔँ’ अभियानका अभियानकर्मी निर्मल श्रेष्ठ, सनम लिम्बू र अजय भण्डारीले साथ दिएका छन् । श्रेष्ठ, लिम्बू र भण्डारी गाडीमा यात्रा गरिरहँदा पुन भने पैदल कुदिरहेका छन् ।

दौडका दौरानमा विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको अभियानकर्मी लिम्बूले बताए । करिब ७५ दिनमा पूरा हुने पुनको दौडको क्रममा सोमबार दिक्तेलमा शिक्षिका सीता थुलुङ राई, सामाजिक अभियान्ता इन्द्र कसजुलगायतको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिएको थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ‘सेभ सोइल’ लेखिएको सेतो ब्यानरमा हातले हिलो माटोको छाप लगाएर कार्यक्रम उद्घाटन गरेका थिए । जिल्ला समन्वय समिति, नगरपालिका, शुभम् फाउण्डेशन र नेपाल सितोरियो कराते सङ्घको सहयोगमा दिक्तेलमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दलका नेता, जनप्रतिनिधि, सरकारी कार्यालय र सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, विद्यार्थीलगायतको सहभागिता थियो । कार्यक्रममा विश्वको ५२ प्रतिशत खेतीयोग्य माटो विनाश भइसकेको, संसारभरिको माटोले अबको ६० वर्षसम्म मात्र बाली उब्जाउन सक्नेलगायतका विषयमा चर्चा गरिएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्