Logo

पूर्व गर्भनरको टिप्पणीः “गभर्नरले छद्मभेषमा राजनीति गर्नुपर्छ र ?”



काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवी नेपालले गभर्नर महाप्रसाद अधिकारी पार्टीको अर्थ विभाग सदस्य हो कि होइन भन्ने बारे नेकपा एमालेले नै स्पष्ट पार्नुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. नेपालले भने, “अहिले भूमिगत भन्ने विप्लवहरु पनि ओपन भएर काम गरिरहेका छन् । अहिले कुन पार्टी छद्मभेषमा छ र ? राजनीति खुला छ । जसको जे नाम हो, त्यसकै नाममा सम्बोधन हुन्छ । नेकपा एमालेको अर्थ विभाग सदस्य एम. अधिकारी नै गभर्नर महाप्रसाद अधिकारी हो कि होइन भन्ने अझै स्पष्ट भएको छैन । एम. अधिकारी भनेको को हो ? यसबारे कि गभर्नरलाई थाहा होला कि एमालेलाई थाहा होला ।”

डा. नेपालले राजनीतिक दलमा आबद्ध व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हुन नमिल्ने पनि औंल्याए । उनले थपे, “म पनि गभर्नर हुनुभन्दा पहिले कांग्रेसमा थिएँ । म पार्टी सदस्यता त्यागेर नै गभर्नर भएको हुँ । नेपाल राष्ट्र बैंक ऐनको दफा २३ मा कुनै राजनीतिक दलमा सम्बन्धित व्यक्ति गभर्नर हुन अयोग्य हुने स्पष्ट लेखेको छ । राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरका कारण संस्था विवादमा तानिनु भएन ।”
साथै उनले आफू गभर्नर हुँदा बैंक तथा वित्तीय संस्थाका सञ्चालक र अध्यक्ष रहेका सभासद्हरुलाई दुईमध्ये एक पद रोज्न भनेको पनि स्मरण गरे । उनले भने, “बैंक तथा वित्तीय संस्थाका सञ्चालक र अध्यक्ष कानुन बनाउने ठाउँमा पनि बस्ने गर्न मिल्दैन भनेर मैले एउटा रोज्न भनेको थिए । २० जना सभासदले बैंक तथा वित्तीय संस्थाबाट राजीनामा दिएका थिए ।” गभर्नरको राजनीतिमै जाने इच्छा हो भने राजीनामा गर्नु उपयुक्त हुने पनि उनले औंल्याए ।
साथै उनले नेपाल श्रीलंकाको हालतमा नजाने पनि स्पष्ट पारे । डा. नेपालले भने, म प्रस्ट भन्छु, “नेपाल कुनै पनि हालतमा श्रीलंका हुँदै हुँदैन । गभर्नरले पनि नेपाल श्रीलंका बन्छ भन्नु नपर्ने हो । उहाँले कुन आधारमा भन्नुभएको हो ? उहाँले श्रीलंका हुन सक्छ भन्न खोज्नुभएको होला । तर यसमा सरकार र जनता सचेत हुनुपर्छ ।”

 



प्रतिक्रिया दिनुहोस्