Logo

प्रचण्डदेखि घनश्याम भुसालसम्म एउटै मञ्चमा : विज्ञान तथा सूचना प्रविधि बहसमा राजनीति



असार ३०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा विज्ञानमा आधारित आन्दोलन सफल भएको बताएका छन् । काठमाण्डामा आयोजित नेपालमा विज्ञान तथा सूचना–प्रविधि सम्बन्धी नीति सम्वाद कार्यक्रममा अध्यक्ष दाहालले नेपालमा ठुल्ठूला परिवर्तनका निम्ति जनस्तरबाट भएका आन्दोलन विज्ञानमा आधारित भएकै कारण केही सफलता पाएको जिकिर गरेका हुन् । कतिपय विद्रोह सम्झौतामा टुंगिनुपर्ने स्थिति बनेको उनले बताए ।
“कम्प्रमाइज गर्दा सम्पत्तीशाली वर्ग जसको अनुभव, जसको पुँजीको तागत, जसको सत्ताको ताकत र त्यसलाई सञ्चालन गर्ने अनुभवसँग कम्प्रमाइज गरेर आएको शक्तिको वा विज्ञानलाई प्रयोग गर्ने शक्तिको संघर्ष हुने र उनै हाबी हुने देखियो ।” उनले भने ।

कार्यक्रममा उनले श्रमजिवीहरूले विज्ञान प्रविधिको प्रयोग गरेर कसरी लड्न सकिन्छ भनेर काम गर्नुपर्नेमा जोड दिए । विचारलाई भौतिक शक्तिमा रुपान्तरण गर्ने कुरा विज्ञानसँग नै सम्बन्धित हुने उनले बताए । अध्यक्ष दाहालले नेपालमा अहिले कोही पनि स्वतन्त्र नरहेको तर्क गरेका छन् ।

दाहालले भने–”अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खासगरी नेपालमा,’ उनले भने, ‘अगाडि बढ्ने कि पछाडि फर्कने हो ? योभन्दा अरु बाटो अहिले म नेपालमा देख्दिनँ ।”

नेकपा एमालेका नेता घनश्याम भुसालले विज्ञान र राजनीति एकअर्कामा जोडिएको बताए । राजनीति राम्रो भएन भने वैज्ञानिकहरु विदेश पलायन हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने भुसालको भनाई छ । उनले मुलुकको राम्रो भविष्यका लागि असल पार्टी हुनुपर्ने बताए । वैज्ञानिक चेतना भएको पार्टीका लागि वैज्ञानिक चेतना भएको कार्यकता चाहिने उनको भनाई छ । नेपालका राजनीतिक दलले समाजवादका नाममा जनतामा भ्रम छरिरहेको नेता भुसालले टिप्पणी गरे ।

भुसालले भने–”बीपीले प्रजातान्त्रिक समाजवाद एक प्याराग्राफ लेखिदिए । अहिले कांग्रेसले त्यही भन्दैन । कसैले राम्ररी लेखिदिए प्रजातान्त्रिक समाजवाद छलफल होला । हामी समृद्ध नेपाल सुखी नेपाली भनेका छौं एमालेवाला । त्यो कसरी आउँछ कहिल्यै भन्दैनौं । प्रचण्ड कमरेडले दस्तावेजमा २१ शताब्दीको वैज्ञानिक समाजवाद भनिएको छ । एकीकृत समाजवादीले यात्रा समृद्धिको, लक्ष्य समाजवाद भनिएको छ । त्यो कसरी आउछ ? परीक्षण हुनेगरी भन्दिनु न ।”

कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले विज्ञानलाई वैज्ञानिकको मात्र नभै जनविज्ञानको रुपमा प्रयोग गर्नुपर्ने बताए । विज्ञानलाई समाजको अंगको रुपमा विकास गर्नुपर्ने शाहको भनाई छ । उनले सुचना प्रविधिले कूल ग्राहस्थ उत्पादनमा २ दशमलब ५ प्रतिशतभन्दा धेरै योगदान रहेको उल्लेख गर्दै यसको महत्व प्रष्ट्याउने प्रयास गरे । तर नेपालमा सुचना प्रविधि क्षेत्रमा अनुसन्धान गर्ने दक्ष विज्ञलाई वेवास्ता गरिएको साहको गुनासो छ ।

साहले भने–”सबभन्दा निरिह प्राणी कोही छ भने त्यो रिसर्चहरु यो देशमा छ के । कसैको कुनै मन्त्रालयमा…१५ लाख त के १५ हजार रुपैयाँ पनि हाम्रो रिसर्चर्सलाई योगदान गर्ने छैन । विज्ञान दिवस मनाएको १० वर्ष भयो । १० वर्ष हुँदा पनि रिचर्स इनोभेसन मस्ट नेगलेटेड ।”

त्यसैगरी जनता समाजवादी पार्टीका नेता अनिल झाले नेपालमा विज्ञानको फाइदा लिन नसकेको बताए । विज्ञानसँग भएको विषयवस्तुको प्रचार गरेर फाइदा लिन सकिने अवस्था भए पनि त्यसतर्फ कसैको ध्यान नपुगेको झाले बताए । “हाम्रो जीवनको हरेक क्षणमा नभए पनि हरेक घण्टामा मिनेटमा त भइरहेकै हुन्छ । तर त्यसलाई हामी विज्ञान नबुझ्न पनि सक्छौँ । हाम्रो शरिर नै बायोलोजी.. म पनि दौडिएर आएँ । विज्ञानले नै काम गरिरहेको हुन्छ । तर त्यो विज्ञानबाट नेपालले फाइदा लिन सकेको छैन । अर्थात विज्ञानलाई हामीले नै इनोभेसन गरेर त्यसलाई विक्री गरेर त्यसको कपिराइट लिएर हामी पैसा कमाउन सकेका छैनौँ ।” झाले भने ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले समाज परिवर्तन र सुशासनका लागि विज्ञान प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्रालयको सिसिटिभी फुटेज हराएको प्रसंग झिक्दै खतिवडाले प्रविधिको प्रयोग प्रभावकारी हुनुपर्ने बताए । उनले राष्ट्रिय सुरक्षा नीतिमा पनि विज्ञान प्रविधिको आवश्यकता रहने उनको भनाई छ ।

खतिवडा भन्छन्–”सुशासन र पारदर्शिताको प्रत्याभूति गर्ने गरी विज्ञान प्रविधिको प्रयोग गरौँ । सिसिटिभी, विज्ञानको एउटा प्रकरण, सिसिटिभीको फुटेज हराएको अर्को प्रकरण । जीन्दगीमा धेरैवटा फुटेजहरु हामीले हराउँदै हराउँदै गएका छौँ र आफूलाई कमजोर पारेका छौँ । सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव छैन । विज्ञानको अधिकतम प्रयोग गरेर सम्भव छ ।”



प्रतिक्रिया दिनुहोस्