काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक चरित्रहत्याका लागि दिल्लीमा सत्ता आलोपालो गर्ने सहमति भएको अनर्गल प्रचार गरिएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने, “नेपाली कांग्रेससँग नेपालमै कुराकानी हुन सक्छ । माओवादी केन्द्र र नेपाली कांग्रेससँग सम्झौता गर्न दिल्ली जानु पर्दैन । प्रचण्डको राजनीतिक चरित्रहत्याका लागि दिल्लीमा सत्ता आलोपालो गर्ने सहमति भएको अनर्गल प्रचार गरिएको छ ।”
बहुदलीय व्यवस्था स्वीकार गरिसकेपछि हिन्दुवादी वा गैरकम्युनिस्ट दलसँग सम्बन्ध र सम्पर्क हुनु स्वाभाविक भएको पनि गुरुङको टिप्पणी छ । उनले थपे, “हामीले बहुदलीय व्यवस्था स्वीकार गरेका छौं । कम्युनिस्ट पार्टीहरुसँग भाइचारा सम्बन्ध हुन्छ । तर गैर कम्युनिस्ट दलसँग पनि सम्पर्क र सम्बन्ध हुन सक्छ । बीजेपी वा हिन्दुवादीसँग सम्बन्धै हुन सक्दैन भन्ने छैन ।” प्रचण्डको भारत भ्रमणले पार्टी र पार्टीबीचको सम्बन्ध स्थापित गर्न सफल भएको पनि उनले बताए ।
वाम एकताको पक्षमा चीनको सद्भाव र सुझाव रहेको पनि नेता गुरुङले स्वीकारे । उनले भने, “चीनको सद्भाव र सुझाव एउटा पाटो हो । त्यसलाई हामीले अन्यथा लिँदैनौं । तर अहिले नेपाली कांग्रेससमेतको पाँच दलीय गठबन्धन छ । कुनै राजनीतिक परिस्थिति क्रिएट भए विकल्प सोच्ने कुरा हो । अन्यथा गठबन्धन जारी रहन्छ ।”