Logo

गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड



काठमाडौँ,२ साउन । आज साउन महिनाको पहिलो सोमबार । पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार प्रिय बार मानिन्छ । पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि चितवन, काठमाडौँ, पोखरा, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दीलगायतका ठाउँबाट भक्तजना आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर धाममा आज बिहानैदेखि पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । गलेश्वरमा साउन महिनाको सोमबार, शिवरात्रि र बालाचर्तुदशीमा विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिकस्थल भन्ने गरिन्छ । हिन्दू तथा वौद्ध धर्मवालम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथसमेत भन्न थालिएको छ ।

गलेश्वरका साथै म्याग्दीका अन्य शिवालयमा पनि आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लगेको छ । बेनी शिवालय, बाबियाचौर, अर्मनको कैलाशफाँट, दरबाङलगायत ठाउँमा रहेको शिवालयमा साउनको पहिलो सोमबार आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् ।

गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले काठमाडौँ, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामीण क्षेत्रबाट भक्तजन आएको बताए । मन्दिर प्रवेशमा मास्क अनिवार्य बनाइएको छ ।

पूजा व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वमंसेवक परिचालन भएका छन् । बेनीको खुला मञ्च नजिकैको शिवालय मन्दिरमा पनि बिहानैदेखि पूजाआजा गर्न आएका भक्तजनको चहलपहल भएको शिवालय मन्दिर संरक्षण समितिका सुन्दर केसीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्