काठमाडौं, साउन ४ । काभ्रेपलान्चोक जिल्लामा दशक पछि भू–माफिया सक्रिय भएका छन् । हुँदै नभएको जग्गा देखाएर भू–माफियाले लेखापढी व्यवसायी समेतको संलग्नतामा मालपोत कार्यालयका कर्मचारीलाई साक्षी राखेर सर्वसाधारणलाई जग्गा विक्री गराएका छन् । हुँदै नभएको जग्गा खरिद गर्नेहरू मध्ये ४ जनाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा उजुरी गरेका छन् ।
धादिङ घर भई बनेपामा १० वर्ष देखि बसोबास गर्दै आएका रवि रेग्मीले काभ्रेपलान्चोक जिल्ला साबिक कलाँती भुम्लु ७ घर भएकी निर्मला उप्रेतीलाई बनेपा नगरपालिका साबिक १ नम्बर वडाको ८ आना जग्गा ४५ लाखमा विक्री गरेका थिए । रेग्मीले नक्कली जग्गाको लालपुर्जा बनाएर बनेपा १ ठेगाना राखी कित्ता नम्बर १५०४ मा ८ आना जग्गा राखेर निर्मलालाई देखाएका थिए ।
उक्त जग्गा असार ३० गते मालपोत कार्यालय काभ्रेपलान्चोकमा पास गरेकी थिइन् । रेग्मीले निर्मलालाई असार ३१ गते जग्गा पास भएको पुर्जा दिएका थिए । २०७९ साउन २ गते पुर्जामा निर्मलाको नक्कली ल्याप्चे देखे पछि जिल्ला प्रहरी कार्यालय काभ्रे मार्फत मालपोत कार्यालय काभ्रेमा जग्गाको कित्ता नम्बर भिडाउँदा जग्गा नै नभएको फेला परेको थियो ।
तत्कालै निर्मलाले प्रहरी मार्फत भू–माफिया रवि लगायत लेखापढी गर्ने सिता थापा र उनका श्रीमान् राजन थापा, मालपोत कार्यालय काभ्रेका कम्प्युटर अधिकृत शशित भण्डारी र रजिस्ट्रेसन ‘क’ मा कार्यरत कर्मचारी रामविनय यादव समेतको मिलेमतो रहेको प्रारम्भिक अनुसन्धान गरी अधिकांशलाई नियन्त्रणमा लिएको छ ।
निर्मलाका श्रीमान् गुल्मी जिल्लामा सरकारी सेवामा कार्यरत छन् ।निर्मला लगायत उनका आफन्त गणेश मैनाली, रुकमणी हुमागाई, रिता तिमल्सिना लगायतले जग्गा खरिद गर्दा आफू ठगिएको पछि मात्रै थाहा पाएको बताएका छन् । प्रहरी कार्यालयमा जाहेरी दिँदै पीडितहरूले गिरोहका नाइके रवि रेग्मीले बनेपा ५ घोकेचौरको खोला करिडोर नजिकैको प्लटिङको जग्गा देखाएका थिए ।
नक्सा देखि पुर्जा समेत सबै सक्कली बनाएर देखाएका रेग्मीले अरुको जग्गालाई प्लटिङको कागजमा कित्ता देखाएर मालपोत कार्यालय काभ्रेपलाञ्चोकले हाल साबिक गरिदिएको ७६ कित्ता बनाएका थिए । यस अघि रेग्मीले ७ वटा यस्तै प्रकृतिको जग्गा पास गरिसकेको बताएका छन् भने ७६ कित्ता जग्गा साउन ८ गते पास गरिसक्ने गरी धेरै ब्यक्तिसँग बैना रकम लिएको स्विकारेका छन् । मालपोतको रेकर्डमा उक्त जग्गा मध्ये केही कित्ता व्यक्तिका नाममा देखिएको भए पनि नक्सा अनुसार सबै नक्कली हो । नेपाल समाचारपत्र दैनिकबाट