Logo

दम्भ गर्‍यो भने कांग्रेसका सिङ भाँच्चिन्छन्ः झलनाथ खनाल



काठमाडौं, ४ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विचार, नीति र कार्यदिशा मिलेको खण्डमा नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले भने, “विचार मिल्ने घटकसँग पार्टी एकीकरण हुन सक्छ भनेर हामीले केन्द्रीय परिषद्को बैठकबाट निर्णय पारित गरिसकेका छौं । हामी पाँच दल मात्र होइन, बाहिरका समूहलाई पनि सँगसँगै लिएर हिँड्ने कोसिसमा छौं । तर तत्कालै, आजै वा अहिले नै पार्टी एकीकरणको कुरामा हामी पुगेका छैनौं । विचार मिल्दै गयो भने नीति र कार्यदिशाका आधारमा एकता केही कुराले रोक्न सक्दैन ।”
नेता खनालले समाजवादका पक्षधर शक्ति एक भएर अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको समेत औंल्याए । उनले भने, “कहीं कतै दक्षिणपन्थी र उग्रवापन्थी भड्काउ भएका भए पनि देशका सबै वामपन्थी शक्तिहरु साझा मुद्दा एक भएर अघि बढ्नु ऐतिहासिक आवश्यकता हो । समाजवाद प्राप्ति दीर्घकालीन रणनीतिक कुरा हो । आवश्यकताका आधारमा कार्यनीतिक एकताका कुरा हुन्छन् । एमालेका साथीहरुले पनि विगत दुई वर्षका घटनालाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ ।”
नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि राजनीतिक संवाद जरुरी भएको खनालले बताए । उनले थपे, “उहाँसँग मेरो अस्ति एकछिन जम्काभेट भएको थियो । कुशल मंगलबारे अलिकति कुरा गर्यौं । राजनीतिक संवाद भएन । अब कसैले पनि ढोका बन्द गरेर बस्नु जरुरी छैन । यो वादे वादे जयते तत्त्वबोध भनेजस्तै हो ।”
चीनले वामपन्थी एकता गर्न तपाईंलाई दबाब दिएको भनिन्छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा खनालले भने, “चीनले मात्र किन भन्नुहुन्छ ऋषिजी ? विश्वभरिका प्रगतिशील शक्तिहरु नेपालको कम्युनिस्ट आन्दोलन एकताबद्ध होस् भन्ने चाहन्छन् । त्यसमा झलनाथ खनालले कुनै भूमिका खेल्न सक्छ भने किन नखेल्ने ? वामपन्थी एकता आजको आवश्यकता हो । तर मैले यो गठबन्धन छाड्नुपर्छ पनि भनेको छैन ।”
नेपाली कांग्रेसले सय सिट माग्दैमा नपाउने पनि उनले दाबी गरे । खनालले थपे, “हरेक पार्टीले त्यस्ता निर्णय गर्न सक्छन् । कांग्रेसको कुरा कसले स्वीकार गर्छ र ? गठबन्धन गर्ने हो भने सम्मानजनक ढंगले सिट तालमेल हुनुपर्छ । कसैले माग्दैमा दिने भन्ने कुरा हुँदैन । आवश्यकता र औचित्य के हो ? कांग्रेसले दम्भ गर्‍यो भने सिङ भाँच्चिन्छन् । अहिले हामीले गठबन्धन टुटाउने सोचेका छैनौं । भागबन्डा मिलेन भने गठबन्धन रहँदैन । जसरी पनि गठबन्धन गर्नुपर्छ भन्ने केही छैन ।”



प्रतिक्रिया दिनुहोस्