काठमाडौं, ५ साउन । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टी गठबन्धनको तयारीभन्दा पनि एमालेविरोधीलाई हराउने रणनीतिमा रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिमालले भने, “अहिले हामी कुनै पनि गठबन्धनको तयारीमा छैनौं । हाम्रो रणनीति एकल शक्तिका साथ एमालेविरोधी गठबन्धनलाई हराउने हो । हामीले २०७४ मा जुन स्थिरताका लागि वाम गठबन्धन बनायौं, त्यसले नै अस्थिरता नै जन्मायो । गठबन्धन पनि जोगिएन, सरकार पनि जोगिएन । गठबन्धन नै अस्थिरताको बाटोमा गएकाले गलत रहेछ भन्ने निष्कर्षमा पुगेका छौं ।”
त्यसो भए एमालेले आगामी निर्वाचनमा वामपन्थी गठबन्धन गर्दैन त भन्ने पत्रकार धमलाको प्रश्नमा उपमहासचिव रिमालले भने, “वाम हुनलाई वाम कित्तामा हुनुपर्यो कि परेन ? नेपाली कांग्रेस वाम पार्टी हो कि होइन ? कांग्रेसलाई कम्युनिस्टहरुले वाम पार्टी त भनेका छैनन् । नेपाली कांग्रेसको छाताभित्र रहेका दल वाम दल होइनन् । वाम गठबन्धन बनाउन कि कांग्रेसको छाता छोड्नुपर्यो कि कांग्रेसलाई नै वाम भन्नुपर्यो ।”
नेकपा एमालेले दुई दलीय प्रणालीमा जान चाहेको उनले स्पष्ट पारे । रिमालले थपे, “नेपालमा मुख्यतः दुई पार्टी कांग्रेस र एमाले छन् । वामको मूलधार एमाले हो, गैर वाम धारको नेतृत्व कांग्रेसले गरेको छ । प्रचण्डजीहरु त पहिले पनि मिसिनुभएको हो । अहिले पनि मिसिनुभएको हो । उहाँहरुलाई कांग्रेसले थोरै सिट दिन्छ भन्ने बुझेपछि टाउको दुखाएको होला । माधव नेपालको पार्टी एक्लै लडे पनि नलडे पनि साइज सानो छ । ४ लाख भोट पनि छैन । प्रचण्डको पार्टी जे गरे पनि तेस्रो बनिहाल्छ । जोगी छउन्जेल घन्टी बजिहाल्छ, घन्टी बजेपछि गुजारा चलिहाल्छ । अहिले हामीबीच संवाद छैन, अन्दाजमात्र हो । राजनीति अन्दाज चल्दैन ।”
एमाले बलियो भएकाले सत्ताको भरमा चुनाव लड्न सकिन्न भनेर कांग्रेस गठबन्धनमा लागेको पनि उपमहासचिव रिमालको आरोप छ । उनले भने, “हामीलाई के थाहा छ भने चुनावमा एउटा गठबन्धनबाट जित्ने अनि मतपरिणामपछि अर्कोसँग मोलतोलमा लाग्ने हो भने राजनीतिक स्थिरता आउँदैन । त्यसैले हामीले स्थिरताका लागि भोट दिनोस् भनिरहेका छौं । प्रचण्ड र माधव नेपालहरु थर्ड ब्लक बन्यो भने हामी एक्लै जित्छौं । एकल बहुमत आएन भने चुनावपछि मन मिल्ने साथी खोजे भइहाल्यो ।”
अर्को प्रसंगमा रिमालले एसपीपीका बारेमा सरकारले नै नक्कली कुरा गरिरहेको आरोप पनि लगाए । उनले भने, “नेकपा एमालेका सांसद भीम रावलले सरकारलाई एसपीपीबाहिर आउन रुलिङ गर भन्नु ठीकै हो । एकातिर केपी ओलीले एसपीपी गरेको भन्ने, अर्कातिर अमेरिकालाई पत्र पठाउन आलटाल गर्नु बेइमानी हो ।”