Logo

कम्प्युटर शिक्षकका लागि बजेट व्यवस्थापन



काठमाडौँ,५ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले १२ वटा सामुदायिक विद्यालयमा कम्प्युटर विषयको पठनपाठन गराउन शिक्षक व्यवस्थापन गर्ने भएको छ । आधुनिक प्रविधियुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले १० वटा मावि र दुई वटा कक्षा ८ सम्मको पठनपाठन हुने आधारभूत विद्यालयमा शिक्षक व्यवस्थापन गर्न आर्थिक वर्ष २०७९÷८० मा बजेट विनियोजन गरेको छ ।

ज्ञानोदय, रघुगङ्गा, जनता, कालिका, रितुङ, मुक्तिधाम, महेन्द्र, अमर मावि पाखापानी, अमर मावि चिमखोला, महादेव मावि र दुई वटा आधारभूत विद्यालयमा कम्प्युटर शिक्षकको व्यवस्था गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए । “आधारभूत तहका चारमध्ये दुई वटा विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै कम भएकाले दुई विद्यालयले मात्र कम्प्युटर शिक्षक पाउने भएका छन्,” उनले भने “प्रस्तावित माध्यामिक विद्यालयलाई आवश्यकता अनुसार दुई वर्षदेखि गणित, विज्ञान र अङ्ग्रेजीका शिक्षकसमेत गाउँपालिकाले नै व्यवस्था गरेको छ ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार निमावि तह सरहको सेवा सुविधा पाउने गरी कम्प्युटर शिक्षक व्यवस्था गर्न गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु एक करोड १३ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

माध्यमिक कक्षा सञ्चालन भएका तर माध्यामिक तहको शून्य दरबन्दी भएका विद्यालय ज्ञानोदय, रघुगङ्गा, जनता, कालिका र रितुङ माध्यामिक विद्यालयमा एक÷एकजना माध्यमिक शिक्षकको व्यवस्थापन गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताए ।

रघुगङ्गा, जनसुन्दर, देउराली आधारभूत, ज्ञानोदय माध्यामिक, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत र माझखर्कमा बालविकास सहजकर्ता तथा मुक्तिधाम माध्यामिक विद्यालयमा सहयोगी कर्मचारी व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको चासो कम हुँदै गएको अवस्थामा पालिकाको शिक्षा क्षेत्रलाई प्रविधिमैत्री र व्यवहारिक बनाउन पहिलो प्राथमिकता राखेर अघि बढेको पालिका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिए ।

सामुदायिक विद्यालयमा अध्यापनरत बालविकास सहजकर्ता तथा विद्यालय सहयोगीको तलब भत्ताका सम्बन्धमा नेपाल सरकारले निर्धारण गरेको मासिक तलब रु ८ हजारमा रू सात हजार थप गरी रु १५ हजार पु¥याइएकोमा यसपालि १५ प्रतिशत बढाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्