Logo

वर्षाले मेलम्ची र हेलम्बु आसपासका सडकमा क्षति



सिन्धुपाल्चोक, साउन ७ । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ ।

गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ ।

त्यस्तै हेलम्बुको मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम उच्च जोखिममा छ । अहिले क्याम्पस नजिकैबाट खोला बगिरहेको छ । जुनसुकै बेला क्याम्पसमा क्षति हुनसक्ने स्थानीयले बताएका छन् । अहिले किउलदेखि मेलम्चीसम्मका नदी किनार आसपासका नागरिक ढुक्कले सत्न पाएका छैनन् ।

“बाढीले सडकलाई दैनिक क्षति गरिरहेको छ, हामी मर्मत गरिरहेका छौँ, केही समयमात्र यातायात सेवा अवरुद्ध भएको छ, हामी तत्काल बाटो खुलाउन र जोखिममा रहेका संरचना बचाउनका निम्ति लागि परेका छौँ”, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने ।

मेलम्ची नगरपालिकाको राम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक खुलाउन मेसिन पठाइसकिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिर्ए।



प्रतिक्रिया दिनुहोस्