काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धनका लागि पार्टी लचिलो भए पनि सिट बाँडफाँड पेचिलो भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “निर्वाचनसम्म गठबन्धन कायम गर्ने कुरामा कांग्रेस उदार र लचिलो छ । तर सिट बाँडफाँड पेचिलो छ । चुनावमा पर्सनालिटी म्यानेज गर्न पनि अप्ठ्यारै छ । तर अर्को गठबन्धन रोक्न पनि गठबन्धन बाध्यकारी छ ।”
नेपाली कांग्रेस ठूलो पार्टी मात्र नबनेर बहुमत नजिक पुग्न गठबन्धनको पक्षमा उभिएको पनि नेता पौडेलले स्पष्ट पारे । उनले भने, “सकेसम्म बढी सिट लिने ध्येय सबैको हुन्छ । नेपाली कांग्रेसले सबै सिटमा लड्न नपाए पनि ठूलो पार्टी मात्र होइन, बहुमतनजिक पुग्ने ध्येय लिएको छ । जनताका पक्षमा काम गर्न पनि बहुमत आवश्यक छ ।”
उनले आफ्नो पार्टीमा प्रधानमन्त्री बन्न योग्य थुप्रै नेताहरु भएको दाबी पनि गरे । पौडेलले थपे, “नेपाली कांग्रेसमा प्रधानमन्त्री बन्न योग्य नेता नयाँ, पुरानो सबै पुस्तामा हुनुहुन्छ । तर नाममा छलफल गर्ने बेला भएको छैन । निर्वाचनको प्रक्रिया सुरु भएको छैन । पहिले पार्टीभित्रका बाँकी काम गरौं । चुनाव अभियान प्रभावकारी बनाऊँ । सही मान्छेलाई टिकट दिऊँ । पार्टीभित्रको अन्तरविरोध न्यून गरौं । त्यसपछि निर्वाचनलाई प्रभावकारी बनाउनका लागि नाम घोषणा गरेर जाने रणनीति बनाउनै नसकिने होइन ।”
एससीसीलाई राष्ट्रघाती कदम भन्ने नेताहरु सरकारमै बसिरहेको भन्दै पौडेलले व्यंग्य पनि गरे । उनले थपे, “कुन व्यक्तिले कहाँ के बोल्यो भनेर म जान चाहन्नँ । कांग्रेसले राष्ट्रघाती कदम चाल्यो भनेर उहाँहरु सरकारबाट बाहिरिदनुभएको छ र ? कांग्रेसले कहिले पनि एसपीपी आवश्यक छ भनेका छैन । यसबारे पत्र पठाउने काम सरकारको हो ।”